Logo
Logo

बीपी राजमार्गमा बनाइयो नयाँ ट्र्याक: १० दिनभित्र सवारी सञ्चालन गरिने


0
Shares

काठमाडौं । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माणअन्तर्गत चुनौतीपूर्ण मानिएको काभ्रेको चार सय बेँसीखण्डको नयाँ ट्र्याक आउँदो १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् ।

हाल उक्त खण्डमा सवारीसाधन तलको डाइभर्सन (वैकल्पिक मार्ग)बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्र्याक तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुला गरिएको छैन ।

सभापति गजुरेलका अनुसार, उक्त ट्र्याकको फाउन्डेसन तयार भइसकेको छ । अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी छ । अनुगमनका क्रममा आयोजनाका प्राविधिकले पछिल्लो १५ दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

आउँदो १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकाएर माथिल्लो सडकबाटै सवारीसाधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ । बाढी वा अरू कुनै संकटकालीन अवस्था आएमा अहिले पनि उक्त ट्र्याक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ ।

१० किलोमिटरको खण्डमा करिब १०० कामदार नियमित खटाइएको छ । परियोजनाअन्तर्गत भकुण्डेबेँसीखण्डको जटिल काम सम्पन्न भइसकेको छ ।

सडकको सुरक्षाका निम्ति माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । आउँदो असार १५ गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्