काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टी नेतृत्व, कार्यशैली र आन्तरिक व्यवस्थापनलाई लिएर गम्भीर समीक्षा र अन्तर्विरोध छताछुल्ल भएको छ ।

जेनजी आन्दोलन पश्चात् बदलिएको राजनीतिक परिस्थिति, नेतृत्वको कमजोरी र पार्टी पुनर्गठनको एजेन्डालाई लिएर अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा दिन र मार्गप्रशस्त गर्न चौतर्फी दबाब बढेको छ। विशेषगरी शुक्रबार र शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको बैठकमा पार्टीका शीर्ष नेताहरूले नेतृत्वको तीव्र आलोचना गर्दै विकल्प खोज्नुपर्ने प्रष्ट धारणा राखेका छन्।
बैठकमा सुरुमै बोलेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई नेतृत्वको गल्ती ठहर गर्दै अब त्यही व्यवस्था कायम राखेर पार्टी पुनर्गठनमा जानुपर्ने बलियो अडान लिएका छन्। विगतको २३ भदौको घटना स्मरण गराउँदै पौडेलले जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूको मृत्यु भइसकेपछि पनि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिएर गल्ती गरेको र त्यही विन्दुबाट वर्तमान राजनीतिक संकट निम्तिएको निष्कर्ष सुनाएका छन्।
पौडेलसँगै उपमहासचिव योगेश भट्टराईले बैठकमा सिधै ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’ भन्दै ओलीको खुला बहिर्गमनको माग गरे। त्यस्तै, महासचिव शंकर पोखरेलले राजीनामा भन्ने शब्द उच्चारण नगरे पनि घुमाउरो शैलीमा अहिलेकै परिस्थिति र अवस्थामा पार्टी अघि बढ्न नसक्ने भन्दै व्यापक समीक्षा र सुधारको आवश्यकता औंल्याएका छन्। यसअघि शुक्रबारको बैठकमा मात्रै ४ जना उपाध्यक्षहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखेर ओलीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेका थिए।
नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको बहस तीव्र चलिरहँदा उपमहासचिव लेखराज भट्टले एउटा नयाँ र रणनीतिक प्रस्ताव अघि सारेका छन् । केवल रूपान्तरणको नारा मात्र लगाएर नहुने तर्क गर्दै उनले यदि साँच्चिकै रूपान्तरण गर्ने हो भने ६० वर्ष नाघेका सबै नेताहरूले पद छाड्नुपर्ने र पार्टी नेतृत्व युवाहरूको हातमा सुम्पिनुपर्ने सुझाव दिए ।
चौतर्फी दबाबका बीच संस्थापन पक्ष र ओली निकटका नेताहरू भने नेतृत्वको बचाउमा उत्रिएका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र शनिबार सचिव महेश बस्नेतले संकटको घडीमा नेतृत्वको रक्षा र संरक्षण गर्नु सबैको कर्तव्य हुने जिकिर गर्दै बचाउ गरेका छन् ।
नेताहरूले निरन्तर प्रश्न उठाएपछि अध्यक्ष ओलीले पनि बीच(बीचमा हस्तक्षेप गर्दै अराजकता प्रदर्शन नगर्न र पार्टीको नीति विपरीत जाने छुट कसैलाई नभएको भन्दै सचेत गराएका छन्।
आफूविरुद्ध सचिवालयका अधिकांश नेताहरू उभिएपछि अध्यक्ष ओली स्पष्ट रूपमा रक्षात्मक तर आक्रोशित मुद्रामा प्रस्तुत भएका छन् । उनले नेताहरूलाई आफूलाई नसम्झाउन र यसरी गलाएर नेतृत्व नछाड्ने कडा अडान लिएका छन् ।
सचिवालयमा आफू अल्पमतमा पर्ने संकेत पाएपछि ओलीले रणनीतिक रूपमा केन्द्रीय कमिटीको कार्ड फालेका छन् । उनले सचिवालयका नेताहरूको राजीनामाको मागलाई अस्वीकार गर्दै केन्द्रीय कमिटीमा आफ्नो अझै पनि बलियो बहुमत रहेको दाबी गरेका छन् । त्यसैले, यो विषयलाई केन्द्रीय कमिटीको बैठकमै लगेर आवश्यक निर्णय लिइने अडान ओलीले राखेका छन्, जसलाई पार्टीभित्र आफ्नो पकड प्रयोग गरेर असन्तुष्ट पक्षलाई पाखा लगाउने रणनीतिका रूपमा हेरिएको छ ।
सचिवालय बैठकमा प्रस्तुत धारणाहरूले एमालेभित्र नीतिगत र नेतृत्व दुवै तहमा गम्भीर संकट रहेको देखाउँछ। हालसम्म ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ५ सचिवले आफ्नो धारणा राखिसकेका छन् भने आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा बाँकी ४ जना सचिवहरूले धारणा राख्न बाँकी छ।
ती सचिवहरूको भनाइ सार्वजनिक भएपछि मात्रै प्रस्तावित एजेन्डाहरूमाथि ठोस छलफल र निर्णय हुने बताइएको छ।














