Logo
Logo

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै


126
Shares

कास्की ।  पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समय सीमा शनिवार सकिएको छ । 

The current image has no alternative text. The file name is: pokhara-6.jpg

महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए ।

“महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ”, महानगर प्रमुख आचार्यले भने । 

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिने छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि  फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । 

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रवार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले समेत भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर छ । यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएका थिए । 

प्रतिक्रिया दिनुहोस्