Logo
Logo

सभामुखको भुमिकाप्रति विपक्षी दलका सांसदहरुको असन्तुष्टि, रास्वपा प्रभावमा परेको आरोप


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेससहितका विपक्षी दलका सांसदहरुले सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै काँग्रेसकी सांसद गीतकुमार सेन्दाङ, एमाले सांसद साजिका सिद्धिका खातुन, नेकपा सांसद पार्वती विकले उक्त टिप्पणी गरेकी हुन् ।

काँग्रेस सांसद सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै सभामुख अर्यालप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले सभामुख अर्याल संसदमा निरिह देखिएको जिकिर पनि गरिन् ।

सांसद सेन्दाङले भनिन्, ‘सभामुखको भुमिका निरिह लागेको छ हामीलाई । यो विषयमा हामीले पहिलो पनि भनिराखेका छौ–सभामुख एउटा सभामुखनै भएर संसदमा प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गर्दा हुन्थ्यो । यस विषयमा सभामुखलाई हामीले धेरै दबाब पनि ग¥यौँ । घेराबन्दी पनि भयो । उहाँको विषयमा धेरै विरोध पनिभयो । तपाई साँच्चीकै एउटा राष्ट्रको सभामुख भएर रुलिङ गर्नुपर्छ । तपाई एउटा थपना जस्तो भएर नबसिदिँदा हुन्थ्यो भनेर हामीले त्यो कुरा उठाएको नै हो । हामी प्रतिपक्षमा बसेर विरोधका लागि विरोध गर्नें पक्षमा छैनौँ ।’

एमालेकी सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गरिन् । प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुखलगायतको भुमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो ।

उनले भनिन्, ‘अब मेरो सभामुख, सदनको सभामुखको कार्य हेर्दा मलाई के फिल भयो भने मेरो सभामुख चाहीँ रास्वपा भन्दा बाहिर निस्कन नै सक्नु भएन के । उहाँले रास्वपा भन्दा बाहिर निस्केर उहाँले सदनको सभामुख, देश र जनताको सभामुख बनिदिएको भए सुनमा सगन्ध थपिन्थ्यो कि । सभामुख, उपसभामुख, मन्त्रीहरु, देशको प्रधानमन्त्री त फेयर हुनुपर्छ नि त । त्यो कुरा हुनु पर्दथ्यो तर मलाई त्यस्तो फिल भएको छैन । र, मैले अस्ति सदनमा चिच्याएर नै भनिएको छु कि तपाई फेयर बनिदिनुहोस । तपाईले हामीलाई अनुशासन सिकाई रहँदा र तपाईको टिम र तपाई अनुशासनमा बस्नु भएको छैन । तपाईले सदनमा प्रधानमन्त्री नै ल्याउन नसकेपछि हामीले आवाज उठाउने कि नउठाउने ?’

सभामुख अर्याल संसदप्रति जवाफदेही नभएको नेकपाकी सांसद पार्वती विश्वकर्माले आरोप लगाइन । उनले संसदमा महिलाहरुको संख्या अझै बढाउने विषयमा लागि रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । जनसंख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाई थियो ।

उनले भनिन्, ‘सभामुखको भुमिकाबारे हेर्ने पनि मूल्यांकन गरिराख्नु भएको छ । त्यो सदनभन्दा बाहिर कयौ गुणा दिग्गज मानिसहरु पनि बाहिर हुनुहुन्छ । हाम्रो सबै गतिविधिलाई एनलाईसिस गर्ने त्यो राम्रो मानिसहरु पनि बाहिर हुनुहुन्छ । उहाँहरुले पनि हेरिराख्नु भएको छ । उहाँका अगाडिका बाध्यता के हुन ? मलाई थाहा छैन । सदनप्रति वायस भएको फिलिङ हामी पनि भएको छ । जनसंख्या हाम्रो ५१ प्रतिशत हो नि । त्यसैले संसदमा हालको महिला सांसदहरुको उपस्थितिबाट हामी सन्तुष्ट छैनौ । हामी सदनमा महिलाहरुको उपस्थिति ५१ प्रतिशत नै बनाउन चाहन्छौ ।’

सांसद विश्वकर्माले सरकारले देश र जनताको हित विपरित कुनैपनि खालको गतिविधि गरे सह्य नहुने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्