Logo
Logo

शेरधन राईको प्रस्ताव: पार्टी पुनर्गठनको सुझाव दिन कार्यदल बनाऔँ


504
Shares

काठमाडौँ । नेकपा (एमाले) का सचिव शेरधन राईले पार्टीको आन्तरिक जीवन पुनर्गठनका लागि सुझाव पेस गर्न कार्यदल गठनको प्रस्ताव गरेका छन्।

आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत कार्यविभाजन प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्। उक्त कार्यदलले सचिवालयमा प्रतिवेदन बुझाउने र सोही निष्कर्षका आधारमा पार्टी अघि बढ्नुपर्ने उनको भनाइ थियो।

“गत निर्वाचनमा पार्टीले ठुलो धक्का खाएपछि पार्टी पंक्तिमा निराशा, अन्योल र विचलनको अवस्था देखा परेको छ। यसलाई चिर्दै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन आवश्यक छ। त्यसका लागि पार्टीको आन्तरिक जीवन पुनर्गठन गर्ने सम्बन्धी सुझाव तथा प्रतिवेदन तयार पार्न एउटा कार्यदल गठन गरिनुपर्छ,” बैठकमा राईले राखेको प्रस्ताव उद्धृत गर्दै एक नेताले भने।

सचिव राईले निर्वाचनको समीक्षा निर्मम ढङ्गले गरिनुपर्नेमा जोड दिएका छन्। चुनावमा पराजय बेहोर्नुका बाह्य र आन्तरिक कारणहरू स्पष्ट रूपमा किटान गरेर समीक्षा हुनुपर्ने उनको भनाइ थियो।

“आफ्ना कमजोरीहरूलाई गम्भीरतापूर्वक महसुस गर्दै आगामी दिनमा सच्चिने दृढ सङ्कल्प गर्नुपर्छ,” उनले बैठकमा भनेका थिए।

राष्ट्रिय राजनीतिलाई सही दिशाबोध गर्न, वर्तमान चुनौतीहरूको सामना गर्न र आगामी कार्यभारहरू पूरा गर्न सक्ने गरी पार्टीलाई सक्षम रूपमा प्रस्तुत गर्नुपर्ने धारणा पनि उनले राखेका थिए।

आइतबारको बैठकमा सचिव राईसहित चार जना सचिवहरूले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्