काठमाडौं । न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल ‘रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले आफ्नो साधारणसभाको अवसर पारेर पत्रकार दुलाललाई नगदसहित पुरस्कृत एवं सम्मानित गरेको हो। दुलालले यसअघि राष्ट्रपतिबाट ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ समेत प्राप्त गरिसकेका छन्।
संसदीय मामिला र अदालत रिपोर्टिङमा विशेष दख्खल राख्ने पत्रकार दुलालले यसअघि कारोबार दैनिक, बाह्रखरी डटकम, माउन्टेन टेलिभिजन र हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा कार्य गरिसकेका छन्।
हाल उनी न्यूज २४ दैनिकको राजनीति ब्यूरोमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनको चर्चित संवाद कार्यक्रम ‘२४ टक’ का सञ्चालक हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीका बेला आफ्नै घरजग्गा खोलाले बगाइरहँदा समेत कार्यक्षेत्रमा खटिएर उनले गरेको प्रत्यक्ष (लाइभ) रिपोर्टिङ निकै चर्चामा रहेको थियो।














