काठमाडौं । चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञहरूविरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भन्ने हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासका प्रवक्ताले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त हल्लालाई पूर्ण रूपमा अस्वीकार गरिएको छ । प्रवक्ताले भने, ‘यो हल्ला सुनेर चिनियाँ पक्ष गहिरो रूपमा स्तब्ध भएको छ र यसलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ । हामी चीनको जानाजानी बदनाम गर्न गरिने यस्ता कार्यको कडा शब्दमा निन्दा गर्छौँ ।’
चीनले सधैँभरि अन्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्दै आएको उल्लेख गर्दै प्रवक्ताले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि नेपालको प्रयासलाई निरन्तर समर्थन गर्दै आएको बताए । साथै, नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र जनताको जीविकोपार्जन सुधारमा चीनले सक्रिय सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा फैलिएको उक्त हल्लाको गम्भीर, गहन र पूर्ण छानबिन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । ‘हामी सम्बन्धित नेपाली अधिकारीहरूलाई यो हल्लामा प्रत्यक्ष संलग्न व्यक्तिहरू तथा पछाडि रहेका सबैलाई कानूनबमोजिम कडा कारबाही गर्न अनुरोध गर्दछौँ,’ उनले भने ।
यसैगरी, दूतावासले दुई देशबीचको साझा हितको संरक्षण गर्न कानुन प्रवर्तन तथा सुरक्षा सहयोगलाई थप सुदृढ पार्न नेपाली पक्षसँग तयार रहेको जनाएको छ । प्रवक्ताले तर्क र बुद्धिको प्रयोगबाट अफवाहहरूको अन्त्य गर्नुपर्नेमा जोड दिँदै सबै नेपालीहरूले सही र गलत छुट्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । साथै, चीन–नेपालबीचको परम्परागत मित्रता र सहयोगलाई थप मजबुत बनाउन दुवै पक्ष मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।














