Logo
Logo

कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश


378
Shares

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्ने आदेश दिएको छ । 

The current image has no alternative text. The file name is: joyti.jpg

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

अदालतले उनको तीनपुस्ते विवरण खुलाउँदै ‘धनराज गुरुङकी पत्नी’ नै लेखेको छ ।  सूचनामा लेखिए अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए । त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।

‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधि मार्फत आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ आज गोरखापत्रमा प्रकाशित सूचनामा लेखिएको छ ।

म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर ललितपुर महानगरपालिका-५ महालक्ष्मी स्थानमा कार्यालय रहने गरी मितेरी सहकारी खोलेका थिए ।

सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले गत आइतबार महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए ।

साढे १२ करोड रकम हिनामिना गरेको आरोप लागेकी ज्योति, नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।  धनराज यो सहकारीमा साधारण सदस्य थिए, ज्योति त्यहीँ काम गर्थिन् ।

ज्योति २०५७ सालदेखि सहकारीमा आबद्ध थिइन् । सुरुमा बचत सङ्कलकको रूपमा सहकारीमा प्रवेश गरेकी थिइन् । २०७० मा सहकारीको कोषाध्यक्ष बनिन् । त्यसपछि महाप्रबन्धक भइन् ।

महाप्रबन्धक बनेपछि उनले रकम हिनामिना गरेको आरोप छ । त्यसका लागि उनलाई पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीको दाबी छ । घोटाला गरेको रकम फिर्ता गर्न पटकपटक ताकेता गर्दा समेत रकम फिर्ता नगरी ज्योति फरार भएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्