काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ ईयूको उडान सुरक्षा कालोसूचीबाट हटाउन सहयोग गर्न ईयू सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन् ।

सोमबार ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालले हवाई सुरक्षामा उल्लेखनीय सुधार गरेको भन्दै कालोसूचीबाट हटाउने प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।
भेटमा मन्त्री खनालले व्यापार, जलवायु, शिक्षा र जनस्तरको सम्बन्धमा नेपाल-ईयू सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिए। साथै जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधिमा लगानी बढाउन ईयू राष्ट्रहरूलाई आह्वान गरे ।
ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति समर्थन जनाउँदै डिजिटलाइजेसन, ई-गभर्नेन्स र विकास सहकार्यमा थप सहकार्यको सम्भावना रहेको बताइन् ।
२२ सदस्यीय ईयू प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।














