
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सुन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् ।
विभिन्न मितिमा भएका दुईवटा लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले लुटेको सुनको सिक्रीसहित पक्राउ गरेको हो ।
गत वैशाख २४ गते दिउँसो साढे १ बजेको समयमा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिल आकासे पुलमा एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको थियो । त्यसैगरी, जेठ ९ गते बिहान साढे ६ बजे काठमाडौंकै बसुन्धरास्थित कल्कीनारायण मन्दिरमा दर्शन गर्न आएकी अर्की एक महिलाको घाँटीबाट पनि सुनको सिक्री लुटिएको थियो ।
यी दुवै घटनामा संलग्न संखुवासभाको सभापोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–बानियाँटार बस्ने ४६ वर्षीय राम कुमार तामाङलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले लुटेको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, तामाङले लुटेर ल्याएको सुन खरिद तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका–१ घर भएका ६३ वर्षीय किशोर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा जेठ ९ गते दिउँसो ३ बजेको समयमा काठमाडौंको चाबहिलबाट थापालाई बिक्री गरिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।














