
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो प्रतिनिधिको रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ ।
परिषद्ले पत्र काट्दै प्रवक्तासमेत रहेका लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो । राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, आइतबारको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ ।
परिषद्ले २०८० चैत २९ गते लामालाई नेपाल क्रिकेट संघको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो । नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको हो ।
यो निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खेलकुद विकास विभाग र नेपाल क्रिकेट संघलाई समेत दिइएको छ । लामालाई किन फिर्ता बोलाइएको हो भन्नेबारे पत्रमा स्पष्ट कारण भने खुलाइएको छैन ।















