काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीका मुख्य योजनाकार जीबी राई कहिले पक्राउ पर्छन् भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद राईले सहकारी ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नहुने बताए । उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुकुम्बासी र अव्यवस्थित बसोवासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जीबी राई कहिले पक्राउ हुन्छ सरकार ? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार ?’
साथै उनले सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्ने माग पनि गरेका छन् । तर त्यो पैसा जनताको करबाट दिन नहुने उनको भनाइ रहेको छ।
उनले थप प्रश्न गर्दै भने, ‘के सरकारले सहकारी, बैंक, अन्य व्यवसायले डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार ?’














