काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाइँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गरे । सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने ,‘उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस । र, सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस । दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अव रोपाइँको सिजन सुरु हुने बेला छ । पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन । अब १०/१५ दिन पछि रोपाइँको सिजन सुरु हुन्छ । तेस्रो बागमतीको कटानको उचित व्यवस्थापन गरियोस् ।’
सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे ।














