
काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा.श्रीकृष्ण गिरीलाई दिएको छ ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन् । डा. गोविन्द केसीको माग अनुसार नै प्रधानमन्त्री शाहले आयोगको पूर्वउपाध्यक्षलाई नै तत्कालका लागि जिम्मेवारी दिएका हुन्।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । पदाधिकारीहरू पदमुक्त भएसँगै आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो ।
डा. झाभन्दा अगाडि डा. गिरी नै आयोगको उपाध्यक्ष थिए । उनी आयोगको पहिलो उपाध्यक्ष समेत हुन् । मंगलबार नै उनले आयोगको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार प्रेस विज्ञप्ति जारी गरी अर्को व्यवस्था नहुँदासम्म कामकाज सञ्चालनका लागि जिम्मेवारी तोक्न सरकारलाई आग्रह गरेको थियो । डा. केसीले तत्कालका लागि यसअघि नेतृत्व गरिसकेका व्यक्तिलाई नै जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाव दिएका थिए ।














