
काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्न तथा विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको हो ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत उद्यमीले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन् ।
यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ । यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल ‘2X Challenge’ अन्तर्गत मान्यता प्राप्त गरेको छ । BII यस पहलको संस्थापक सदस्यसमेत हो । बैंकको सुशासन, नेतृत्व, रोजगारी र कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको हो । साथै, BII को प्राविधिक सहयोग कार्यक्रम ‘Invest for Impact Nepal (IIN)’ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको छ।
यस सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ । यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्याउनेछ ।














