Logo
Logo

प्रधानमन्त्री बालेन संसदप्रति अनुदार हुनु लज्जास्पदः सांसद पन्त


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद कमला पन्तले प्रधानमन्त्री बालेन साह संसदप्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ । उनले सरकार संसदप्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु जरुरी रहेको बताइन् ।

सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्ति भन्दा पनि प्रधानमन्त्री संस्था महत्वपूर्ण भएको उल्लेख गर्दै संसदप्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन् ।

उनले भनिन्, ‘संसदले नै बनाएको सरकारले संसदलाई नै उपेक्षा गर्यो भने संसदको अवस्था के हुन्छ ? यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसदप्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’

उनले सबै राजनीतिक दलहरुसँग संवादमार्फत नागरिकका समस्या हल गर्नतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्