Logo
Logo

‘टीओबीले प्रदर्शन कब्जा गरी विद्यार्थीलाई ढाल बनाएर संसद्‌मा आक्रमण गर्‍यो’


630
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गते भएको ‘जेनजी’ प्रदर्शनलाई ‘तिब्बतीयन ओरिजिन ब्लड’ (टीओबी) समूहले नियन्त्रणमा लिई संसद् भवनमा आक्रमण गरेको निष्कर्ष निकालेको छ।

विसं २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन गरी आयोगले तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो।

आयोगको प्रतिवेदनमा भनिएको छ, “शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन र कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा, उक्त स्थानमा ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा ‘टीओबी’ कै ट्याटु खोपेका १५/२० जनाको बाइकर समूह प्रवेश गरेको देखिन्छ। प्रतिवेदनको प्रकरण नं. ३ मा उल्लेख भएअनुसार, उक्त विध्वंसात्मक समूहले नवयुवा (जेनजी) को शान्तिपूर्ण प्रदर्शनलाई आफ्नो नियन्त्रणमा लियो। उनीहरूले विद्यार्थीहरूलाई ढाल बनाई सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने, संसद् भवनमा आक्रमण गर्ने र आगजनीको प्रयाससमेत गरी धनजनको क्षति पुर्‍याएको स्पष्ट हुन आएको छ।”

एभरेष्ट होटलअगाडि अन्दाजी २० देखि २५ हजारको भिड जम्मा भएपछि दिउँसो करिब १२ बजेतिर ‘हामी नेपाल’ संस्थाका सुधन गुरुङले उक्त भिडको नेतृत्व गरेको प्रतिवेदनमा उल्लेख छ।

गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए। त्यसपछि सुरक्षाकर्मीसँग मुठभेड र झडप हुँदा स्थिति हुलदंगामा परिणत भएको आयोगको ठहर छ।

त्यसपश्चात मात्र सुरक्षाकर्मीले अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग गरेको प्रतिवेदनमा जनाइएको छ। अश्रु ग्याँस प्रहार भएपछि आक्रोशित भिडले बीआईसीसीको १ नम्बर गेटअगाडि ढुंगामुढा सुरु गरेको, एपीएफको वाटर क्यानन तोडफोड गरेको र वाटर क्याननको छतमा चढेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो परिस्थिति सिर्जना भएपछि सुरक्षा निकाय र जेनजीका अगुवाहरूले समेत आक्रोशित भिडलाई सम्झाई-बुझाई गर्न, फर्किन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको आयोगले जनाएको छ। प्रतिवेदनका अनुसार स्थिति नियन्त्रण बाहिर जान लागेपछि करिब मध्याह्नतिर प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिँदै कर्फ्यू जारी गरेका थिए।

प्रतिवेदनमा अगाडि भनिएको छ, “यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई योजनाबद्ध रूपमा उक्साई, आक्रोशित बनाई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्ने ‘टीओबी’ अंकित कालो टिसर्टधारी र शरीरमा सोही ट्याटु खोपेका १५/२० जना बाइकर समूहका व्यक्तिहरूको पहिचान तथा आयोजकहरूसँग उनीहरूको सम्बन्ध कस्तो थियो भन्ने कुरा अनुसन्धान प्रतिवेदनबाट खुल्न सकेको छैन। उनीहरू कसैबाट सञ्चालित थिए वा थिएनन् भन्ने विषय पनि स्पष्ट नभएकाले, प्रदर्शनकारीलाई भड्काउन प्रत्यक्ष संलग्न देखिएको उक्त बाइकर समूहको वास्तविक अवस्थाबारे थप अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ।”

प्रतिक्रिया दिनुहोस्