काठमाडौं । कास्कीको पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर सङ्गठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने सुरु गरिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा बनाइएका संरचनामाथि डोजर परिचालन गरिएको हो । नेकपानिकट मजदुर सङ्गठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।
हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवसायीले रातीसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए ।
यहाँको संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो । यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।














