काठमाडौं । सरकारले राजदूत नियुक्ति सिफारिसका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले इच्छुक व्यक्तिहरूलाई आउँदो जुन ५ भित्र आवेदन दिन समयसीमा तोकेको छ। मन्त्रालयले दरखास्तका लागि आवश्यक योग्यता र कार्यक्षेत्रसहितको निर्देशिकासमेत सार्वजनिक गरेको छ।

राजदूत पदका लागि न्यूनतम ३५ वर्ष उमेर पूरा भई कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। विशिष्ट श्रेणीसरहको यो पदका लागि स्नातकभन्दा माथिल्लो शैक्षिक योग्यता र कार्यअनुभव भएका उम्मेदवारलाई थप ग्राह्यता (प्लस प्वाइन्ट) दिइनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूलाई स्क्रिनिङ (प्रारम्भिक जाँच) गरी मन्त्रिपरिषद्मा पठाइने छ। मन्त्रिपरिषद्ले योग्यताका आधारमा राजदूतको नाम सिफारिस गर्नेछ। सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ सफल भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था छ। नियुक्तिका निम्ति छानिएका राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर मात्र आफ्नो कार्यक्षेत्र (सम्बन्धित देश) मा जानुपर्नेछ।
मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम मन्त्रालयले बिहीबार यो दरखास्त आह्वान गरेको हो।
के-के छन् योग्यता र सर्तहरू?
निर्देशिकाको दफा ३ (छ) अनुसार राजदूत बन्नका लागि उम्मेदवारले निम्न न्यूनतम योग्यताहरू पूरा गरेको हुनुपर्नेछ:
उमेर र नागरिकता: कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने।
शैक्षिक योग्यता: नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
नैतिकता: भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने।
आवासीय पत्र: कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने।
विज्ञता: नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने।
स्वार्थको द्वन्द्व: प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्था (आईएनजीओ/एनजीओ) मा हाल कार्यरत नरहेको हुनुपर्ने।
भूतपूर्व पद: यसअघि विदेशी राष्ट्रको तलबभोगी पदमा नियुक्त भएको भए, उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने।
विशेष प्राथमिकता:
अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर (मास्टर्स) गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
आवेदन कसरी दिने?
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइटमा उपलब्ध वा मन्त्रालयबाटै प्राप्त हुने तोकिएको फारम भरी, आफ्नो विस्तृत व्यक्तिगत विवरण (सीभी) सहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत पेस गर्न सक्नेछन्।
मन्त्रालयले प्राप्त दरखास्तहरूमध्येबाट प्रारम्भिक छनोट (सर्टलिस्ट) गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट ‘एग्रिमो’ (सहमतिको पत्र) आएपछि मात्रै राष्ट्रपतिबाट राजदूतको औपचारिक नियुक्ति हुने व्यवस्था छ।














