
काठमाडौं । सरकारले आज (जेठ १५) गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्मा प्रस्तुत गर्दै छ ।
अपराह्न ४ बजे बस्ने दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने भएका हुन् ।
त्यसअघि आजै योजना आयोगको बैठक बसेर वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पास गर्ने तयारी छ । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर बजेट संसद्मा प्रस्तुत गर्ने निर्णय गरिनेछ ।
संसद्मा दुईतिहाइ नजिक बहुमत रहेको रास्वपाको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन् ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटले अहिलेसम्मकै ठूलो संरचनात्मक परिवर्तनका कार्यक्रम बजेटमा आउने दाबी गरिरहेका छन्। त्यसकारण पनि बजेटमा सबैको ध्यान केन्द्रित भएको छ ।
अर्थ मन्त्रालयले २२ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटबाट सरकारले कर प्रणालीमा आमुल परिवर्तन गर्न खोजेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। रास्वपाको घोषणापत्रमा पनि कर प्रणाली सुधार गर्ने र डिजिटल प्रशासनको अभ्यासमा जाने उल्लेख छ ।
यसपटक सरकारले मूल्यअभिवृद्धी करको दर घटाउने भएको छ । उद्योगी व्यवसायीहरूको मूल्यअभिवृद्धी करको दर घटाउनुपर्ने र बहुदर लगाउनुपर्ने माग गर्दै आएका छन् ।
तर, स्वर्णिम वाग्लेले यसै वर्षबाट बहुदरमा जाने आँट गरेका छैनन् । बरु बजेटमा बहुदरको विषयमा अध्ययन गर्ने समिति बनाउने विषय उल्लेख गरिएको स्रोतले जानकारी दियो ।














