
काठमाडौं । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । शुक्रवार शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहति उत्कृष्ट १४ जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुने किसानहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताएका छन् ।
कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान कुनै एक किसानको नभई सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताए । उनले खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई सरकारले पहिचान गरेको अनुभुति भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेशालाई मर्यादित, सम्मानित र आकर्षक पेशाका रूपमा स्थापित गर्न सहयोग पुग्ने धारणा राखे ।
अवस्थीले कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै युवा पुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न आफू निरन्तर लागिरहेको समेत बताए ।
उनले भने, ‘आजको यो सम्मान केवल सम्मान होइन देशभरी किसानहरुको सम्मान हो । खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई नेपाल सरकारले पहिचान गरेको अनुभूति हामीले गरेका छौँ । यस पुरस्कार तथा सम्मानले हामी नयाँ, उर्जा तथा उत्साह र मनोबल बढाएको छ । यस्ता पुरस्कार तथा सम्मानले कृषि पेसालाई मर्यादित, सम्मानित र आकर्षित पेसाका रुपमा स्थापित गर्न कोसेढुंगा सावित हुनेछ । कृषि पेसामा रहेको सम्भावनालाई उजागर गरी कृषि पेसालाई सम्मानित, मर्यादित र आकर्षित पेसाको रुपमा युवा पुस्तामाझ परिचित गराउन निरन्तर लागिरहेको छु ।’
उनले सरकारले कृषि नीतिमा केही सुधार गर्दै व्यवसायिक र वैज्ञानिक कृषि नीति अवलम्वन गरे मात्र कृषि पेसाको पुस्तान्तर सम्भव हुने बताए ।














