Logo
Logo

बालेनको अपरिपक्व कूटनीतिका कारण छलाङ मार्दै रवि


डा. दीपेश केसी

2k
Shares

“मोदीजी नेपाल र भारतबीच सम्बन्ध राम्रो बनाउन चाहनुहुन्छ भने हामी ‘इन्ट्याक्ट’ हुनुपर्छ । बीचको ठाउँ खाली राखेमा तपाईँको नाम लिएर ‘बिचौलियाहरु’ले लुट्नेछन् । यो तपाईँको देशका लागि पनि हानीकारक छ र नेपालका लागि पनि हानीकारक छ । यस्ता व्यक्तिका कारण सम्बन्ध कहिले राम्रो हुँदैन । आज राष्ट्रवादी बन्नका लागि भारतको विरोध गर्न मानिसहरु वाध्य भइरहेका छन्,” तीन वर्षअघि राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति हो यो ।

उनले त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा सिधा कुरा गर्ने आकांक्षा व्यक्त गरेका थिए । ठिक तीन वर्षअघि लामिछानेले मोदीसँग सिधा कुरा गर्ने मौका जुरेको छ । रास्वपाका सभापतिको हैसियतले लामिछाने भारत भ्रमणको तयारीमा छन् । जसले राजनीतिलाई फेरि तरंगित पारेको छ । भारत सरकारले नेपालको सबैभन्दा ठूलो दलको नेताको हैसियतले लामिछानेलाई निम्तो दिएको हो । उनको भ्रमण अगाडि परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण स्थगित भयो ।

बालेन्द्र साह प्रधानमन्त्री भएपछि सरकारको तहमा अहिलेसम्म नेपाल र भारतबीच उच्चस्तरको भ्रमण भएको छैन । भारतले नेपालबाट प्रधानमन्त्री वा मन्त्रीलाई अतिथि बनाउनुअघि सत्तारुढ दलका नेतालाई नै एकैपटक भ्रमणमा बोलाएको छ । यो आफैमा महत्वपूर्ण सन्देश हो ।

रास्वपाभित्र लामिछाने छिमेकी भारतसँग सुमधुर सम्बन्ध बनाएर जानुपर्ने पक्षमा देखिन्छन् । अघिल्लो संसदमा रास्वपा चौंथो ठूलो दल रहँदा पनि खुलेरै भारतको सत्तापक्षसँग कुराकानीको प्रस्ताव गरेका थिए । बीचका मान्छे र एजेन्टलाई विश्वास नगर्न र तिनले नामको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थ पूरा गरी नेपाल र भारतको सम्बन्ध बिगारिरहेको सम्म भनेका थिए । त्यतिबेला पनि रविले मोदीलाई भेट्न निकै प्रयास गरेका थिए ।

यसपटक रास्वपा झण्डै दुईतिहाइको बहुमतसहित चुनावमा विजयी भएपछि उनका लागि छिमेकी भारतको ढोकाहरु उघ्रिए । चुनाव जितेपछि रविले मोदीबाट बधाई पनि पाएका थिए । टेलिफोन कुराकानी पनि भएको थियो । मोदीसँग उनको यो नै पहिलो कुराकानी थियो । अब भने उनीले मोदीसँग प्रत्यक्ष भेट गर्दैछन् ।

लामिछानेलाई भ्रमणमा बोलाउनुअघि भारतले प्रधानमन्त्री बालेन साहलाई अतिथि बनाउन चाहेको थियो । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि पहल पनि हुँदै थियो । परराष्ट्रमन्त्री शिशिर खनालको भारतका विदेशमन्त्री एस जयशंकरसँग मौरिससमा भएको साइडलाइन वार्तामा भ्रमणबारे कुराकानी चलेको थियो । खनाल आफै भारत भ्रमणमा जाने तय थियो । तर, ती सबै कार्यक्रमहरु थाँती राखेर रविलाई दिल्लीले निम्तो दियो । भारतले बालेन साहलाई भन्दा रवि लामिछानेलाई बढी महत्व दिएको सन्देशका रुपमा यो घटनालाई हेरिएको छ ।

प्रधानमन्त्री भएपछि बालेन साहले विदेशी राजदूतहरुसँगको सामूहिक भेट बाहेक कुनैपनि विदेशी अधिकारीहरुसँग भेट्न मानेका छैनन् । यतिसम्मकी उनले नेपाल आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सेरगियो गोरसँग पनि भेटेनन् ।

ट्रम्पका विश्वासपात्र गोर भारतका लागि राजदूत मात्र होइनन् अमेरिकाको दक्षिण तथा मध्य एशिया हेर्ने विशेष दूत पनि हुन् । दूतसँग नभेट्नु बालेनको अहंता र कूतनीतिक अपरिपक्वता थियो । प्रधानमन्त्री भएपछि उनले एकपछि अर्को यस्तै अपरिपक्ता देखाइरहेका छन् । छिमेकी भारत र चीनका राजदूतहरुसँग पनि प्रधानमन्त्री बालेनले छुट्टाछुट्टै भेट गरेका छैनन् । जबकि यी दुई देश नेपालका ठूला दाताराष्ट्र मात्र होइनन् व्यापार बढी हुने देश पनि पर्दछन् । इरान युद्धले इन्धनको संकट बढ्दासमेत भारतले नेपाललाई तेल र ग्यास पठाइरहेको छ । जबकि भारत आफैँ तेल र ग्यास संकट भोगिरहेको छ ।

बालेनको मेयर हुँदा पनि छिमेकप्रति हेर्ने दृष्टिकोण सकारात्मक थिएन । सत्तामा पुग्न छिमेकको घोर विरोध गर्ने शैली बालेनले पनि अपनाएकै हुन् । उनले भारत र चीन मामलामा विगतमा विवादास्पद ट्वीट मात्र गरेनन् गतिविधि पनि गरे । प्रधानमन्त्री भएपछि पनि उनको शैलीमा खासै परिवर्तन आएको देखिएन । छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनु वाध्यता र अनिवार्य हो भन्ने यथार्थ मनन गरेर बढ्ने कूटनीतिक परिपक्वता बालेनमा देखिएन ।

उनी सामाजिक सञ्जालको लोकप्रियताप्रति भरोसा बढी गर्दै रहे । त्यस्ता भरोसाहरु दीगो हुँदैनन् भन्ने सामाजिक सञ्जालको लोकप्रीयताबाट अरबका देशहरुमा सत्ताहरु त परिवर्तन भए तर परिवर्तनपछि बनेका नेताहरु लामो समय टिक्न नसकेको घटना साक्षी छ । पछिल्लो समय दक्षिण एशियामा विद्रोहबाट भएका राजनीतिक परिवर्तन कति दिगो हुन्छ भन्ने विश्लेषण हुन थालिसकेको छ । सत्तामा पुगेकाको सुझबुझ र परिपक्वतामा त्यो निर्भर रहन्छ । अर्कोतर्फ, भूराजनीतिक जोखिम बढ्दै जाँदा सत्तारोहण गर्नेलाई अघि बढ्न भन्दा टिक्न कठिन हुन्छ । बालेनको हकमा यही चुनौती देखापर्दै गएको छ ।

दक्षिण एशियामा लहरका रुपमा युवाहरुले विद्रोह गरेपछि सरकार परिवर्तन भयो । श्रीलंका, बँगलादेश हुँदै नेपालसम्म युवा विद्रोह भयो । सत्तामा सैनिक हालीमुहाली रहेको पाकिस्तानमा इमरान खान सेनाकै बलमा सत्ताबाट हट्ने अवस्था बनाइएको थियो ।

क्षेत्रीय शक्ति भारतमा समेत युवा आन्दोलनबाट सत्ता डगमग बनाउने प्रयासहरु नभएका होइनन् । श्रीलंका, बँगलादेश हुँदै नेपालमा छिरेको आन्दोलनको छाल भारतसँग पु¥याउन पछिल्लो समय ‘ककरोच’ जनता पार्टीको गतिविधिलाई लिन सकिन्छ ।

यो घटनाबाट भारत सरकार सचेत र सतर्क देखिन्छ । सामाजिक सञ्जालको कला जानेका संगठित समूहहरुले भारतभर बलियो संगठन रहेको भारतीय जनता पार्टीको सरकारलाई नै डगमगाउन कुनैपनि मुद्दालाई उचाल्दै आएको छ ।

असन्तुष्टिको आगोमा घिउ खन्याउँदै मौका छोप्ने समूहहरु छिमेकीमा भएका परिवर्तनबाट उत्साही र त्यही शैलीमा बढ्न खोजेकोमा भारतको सत्ताधारीहरु जानकार नै होलान् । यसकारण पनि सामाजिक सञ्जालको लोकप्रीयताको आँडमा सत्तासम्म पुगेकाहरुप्रति भारतको सत्ता सचेत र सतर्क देखिन्छ । यद्यपि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालमा जेनजी विद्रोहपछिको परिवर्तनलाई लिएर युवाहरुको प्रशंशा गरेका थिए ।
छिमेकमा भएका परिवर्तन स्वीकार्नुपर्ने धारणा भारतको सत्तासँग जोडिएकाहरुको पनि देखिन्छ । तर, विपक्षीले छिमेकमा परिवर्तनरुपी डढेलोलाई भारतमा पनि फैलाउन खोजेपछि भने शंका आशंकाहरु बढ्न थालेका छन् ।

बालेनको छिमेकप्रतिको दृष्टिकोण व्यवहारिक रुपमै असपष्ट देखिएको छ । उनको पुरानै शैलीलाई विश्लेषण गरेर हेर्ने हो भने छिमेकप्रति उनी सकारात्मक छैनन् भन्ने बुझाई बन्न पुगेको छ । छिमेकसँग कस्तो सम्बन्ध बनाएर अगाडि बढ्ने भन्ने कार्यशैली पनि देखिँदैन । बालेनको यही कार्यशैलीको लाभ उनका विरोधीले लिन थालिसके । केपी ओलीको पालामा भन्दा बालेनको पालामा भारतसँगको सम्बन्ध बिग्रिसकेको अभिव्यक्ति रास्वपाकै सांसद अमरेश सिंहले दिइसके ।

राजनीतिमा अपरिपक्व र अनुभवहीनता त छँदैछ, कसैका लागि पनि बालेन सहज बन्न नचाहने स्वभावका छन् भन्ने बुझाइ छ । उनका लागि यही शैली प्रत्युत्पादक बन्दै गएको छ । पाको उमेका, हण्डर ठक्कर खाएको अनुभव होस् या सबैका लागि सहज पहुँच बनाएका रविले परिपक्वता देखाएर लाभ लिन थालिसके । छिमेकको निम्तो उचित समयमा पाए । यसबाट उनले ठूलै लाभ उठाउने देखिदैछ । भविष्यमा बालेनका लागि विपक्षी दल नभई रवि ठूलै चुनौती बन्दैछन् भन्ने संकेत पनि हो उनको आसन्न भारत भ्रमण ।

कूटनीतिक चार्तुयता बालेन कमजोर
लोकप्रीयताको जगमा राजनीतिमा उदाएका पात्रहरु हुन् बालेन्द्र साह र रवि लामिछाने । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका बालेनका कारण रविको आत्मबल बढ्यो र उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरी अघिल्लो संसदमा आश्चर्यजनक परिणाम ल्याएर चौंथो ठूलो दल बनाउन सके । सिद्धान्तको जगमा भन्दा परम्परागत दलप्रतिको असन्तुष्टिलाई अस्त्र बनाएर बालेन र रविले व्यक्तिगत लोकप्रियता बनाए । बालेनको लोकप्रियता र रविको संगठन जोडिदा रास्वपाले झण्डै दुईतिहाइको बहुमत ल्यायो । तर, राजनीति र कूटनीतिक चार्तुयता बालेनमाभन्दा रविमा देखियो ।

शक्तिराष्ट्रको मुख्य शक्तिलाई रविले गहिरोसँग बुझेका छन् । यसकारण उनी बाह्य शक्तिसँग औपचारिक र अनौपचारिक भेटहरु गरिरहन्छन् । त्यस्ता शक्तिसँग सिधा सिधा कुरा गर्छन् । भेटका प्रयासहरु पनि गर्छन् । रविले नेपाल आउँदा ट्रम्पका दूतलाई पनि भेटे । अनौपचारिक रुपमा विदेशी अधिकारीहरुलाई पनि भेटे । त्यस्ता अधिकारीलाई कुराकानीबाट प्रभावित बनाउन खुबी पनि उनमा देखियो । कूटनीतिक चार्तुयताका कारण पनि रविले राजनीतिमा अहिलेसम्म बाजी मारेका छन् । भविष्यमा पार्टीभित्रका प्रतिष्पर्धी बालेनलाई निकै पछि पार्ने छाँट देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्