
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी रहेको र यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको टिप्पणी गरेकी छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटले मुलुकको यथार्थ धरातललाई सम्बोधन गर्न नसकेको आशंका व्यक्त गरिन् । प्रमुख सचेतक ओलीले सरकारले आन्तरिक स्रोत परिचालनमा पर्याप्त ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गरिन् । वैदेशिक ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदर उच्च हुने उल्लेख गर्दै उनले यसले देशको अर्थतन्त्रलाई थप जोखिममा पार्न सक्ने बताइन् ।
युवा स्वरोजगार, सुकुम्वासी समस्या र शिक्षा क्षेत्रका बारेमा बोल्दै ओलीले सरकारका नीतिहरू पुरानै ढर्राका रहेको आरोप लगाइन् । श्रम र खेलकुद जस्ता युवाहरूसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा न्युन बजेट विनियोजन गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन् । सुकुम्वासी व्यवस्थापन र सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको उद्घोष सकारात्मक सुनिए पनि राज्यसँग त्यसका लागि पर्याप्त स्रोत नभएको उनको दाबी छ ।
उनले भनिन्, ‘सरकारले आन्तरिक आय वृद्धि गर्ने ठोस योजना ल्याउन सकेको छैन, जसले गर्दा बजेट कार्यान्वयनमा विश्वासको संकट पैदा हुने देखिन्छ । सडक निर्माणमा भइरहेको लापर्बाही र अनियमितताको गम्भीर अध्ययन हुन जरुरी छ । सडक मर्मतका लागि छुट्याइएको २८ अर्ब रुपैयाँले खाल्डाखुल्डी र धुलोको समस्या समाधान गरी नागरिकलाई राहत दिनुपर्छ ।’
पूर्वाधार विकासका सन्दर्भमा ओलीले ‘एशियन हाइवे’ को निर्माण कार्य गुणस्तरहीन र असुरक्षित रहेको टिप्पणी गरिन् । विशेषगरी झापा खण्डमा भइरहेको निर्माण कार्य दिगो नहुने आशंका व्यक्त गरिन् ।
यद्यपि, ऊर्जा क्षेत्रमा गरिएको बजेट विनियोजनलाई भने उनले सकारात्मक कदमका रूपमा लिएका छन् । ऊर्जा क्षेत्रले रोजगारी सिर्जना र आर्थिक विकासमा कस्तो प्रभाव पार्छ भन्ने कुरा सरकारको कार्यक्षमतामा निर्भर रहने उनको भनाइ छ । झन्डै २२ खर्बको हाराहारीमा रहेको भनिएको यो बजेटको आकार मुलुकको क्षमताभन्दा ठूलो देखिएकाले यसले सर्वसाधारणमा निराशा मात्र थप्न सक्ने चेतावनी समेत उनले दिइन् ।














