Logo
Logo

अहिलेको सरकार सुकुम्वासी, गरिब र निमुखा विरोधीको हो : राजेन्द्र पाण्डे


504
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेले वर्तमान सरकारलाई सुकुम्वासी, गरिब र निमुखा वर्गको विरोधी भएको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा अखिल नेपाल महिला सङ्गठन एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पाण्डेले अहिलेको सरकार निमुखा वर्गको विरोधी भएको बताएका हुन् । 

The current image has no alternative text. The file name is: rajendra.jpg

उनले वर्तमान सरकार षड्यन्त्रको परिणामस्वरूप बनेको दाबी गरे । उनले जेनजी आन्दोलन योजनाबद्ध षड्यन्त्र भएको बताएका छन् । उनले सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरमा आगजनी गरेर निर्वाचित संसद्लाई बिना कारण विघटन गरिएको आरोप लगाए ।

“२०८२ सालको भदौ २३ र २४ गते हाम्रो देशमा ठूलो विध्वंस भयो। सर्वोच्च अदालत जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, प्रधानमन्त्री निवास जल्यो । अदालतदेखि प्रहरी कार्यालयहरू सबै जले, नेताहरूका घर खोजीखोजी जलाइयो। त्यसपछि संसद्लाई बिना कारण विघटन गरियो,” उनले भने । उनले भने, “निर्वाचित संसद् विघटन गरेर सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नै नभएको शक्तिलाई सत्तामा पु¥याइएको छ । अहिले सुकुम्वासी र गरिब, निमुखा वर्गको विरोधी पार्टी सरकारमा छ ।”

पाण्डेले पञ्चायत फाल्न र राजतन्त्र अन्त्य गर्न लामो संघर्ष गरेको स्मरण गर्दै उनले भने, “हामीले निरंकुश पञ्चायत फाल्यौँ, राजालाई संविधानभित्र बाँध्यौँ र अन्ततः राजतन्त्र नै बिदा गर्‍यौँ । तर जसले यो आन्दोलनमा कुनै योगदान दिएनन्, रगत बगाएनन्, भूमिगत भएनन्, जनयुद्ध र जनआन्दोलनमा सहभागी भएनन्, तिनीहरू नै आज प्रधानमन्त्री, मन्त्री र संसद्को नेतृत्वमा छन्। उनीहरूसँग जनताप्रति माया र अनुभव दुवै छैन ।”

उनले कम्युनिष्ट कार्यकर्ताहरूलाई विगतको आत्मसमीक्षा गर्दै पुनः सङ्गठित हुन आह्वान गरे । “धुलो टक्टक्याएर उठौँ, माटो समातेर कसम खाऔँ र हिजोभन्दा राम्रो पार्टी निर्माण गरौँ,” उनले भने । 

पाण्डेले केन्द्रीय तहमा पार्टी एकता भए पनि तल्लो तहका कार्यकर्ताहरूबीच एकता हुन नसकेको बताए । उनले पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादी विचारबाट माथि उठेर नयाँ ढङ्गले अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्