काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पुनले यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरेका हुन् ।

उनले भने, “डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालबाटै तय हुन्छ, तर त्यहाँ स्थिर नेतृत्व हुँदैन । लाइक माइन्डेडहरूको समूह बन्यो र एजेण्डा सेट भयो ।” पुनले यस्ता आन्दोलन अत्यन्त तीव्र र हिंसात्मक हुने तर भर्चुअल दुनियाँबाट उठेका आन्दोलन उत्तिकै छिटो पतन हुने बताए । उनले २०७९ को चुनावमा मधेशमा सिके राउतको पार्टीको उदाहरण दिँदै एकैछिनमा उदाएका शक्तिहरू अहिले कतै नरहेको उल्लेख गरे ।
“एक महिनाभित्रै नयाँ दलका दुई मन्त्री पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्छ,” पुनले भने । उनले विचार, त्याग र बलिदानबिना आएका शक्तिले समाज सम्हाल्न नसक्ने ठहर गरे । पुनले स्थापित दलहरूलाई प्रविधिमैत्री बनाउन चुनौतीपूर्ण रहे पनि दीर्घकालीन रूपमा उनीहरूले नै देश सम्हाल्ने अवस्था आउने विश्वास व्यक्त गरे ।














