काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवार उठाउने लक्ष्य रहेको बताएका छन् । शनिवार नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व विस्तार गर्न अहिलेदेखि नै तयारी थालेको जानकारी दिएका हुन् ।

उनले भने, “७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली काँग्रेसबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने गरी काम गर्नुपर्छ ।” उनकाअनुसार पार्टीले निर्वाचन ब्यूरो गठन गरेको छ जसको नेतृत्व पुष्पा भुसालले गरेका छन् ।
यसैगरी ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन लड्न चाहने पुराना वा नयाँ उम्मेदवारले अनिवार्य रूपमा यो एकेडेमीमा भर्ना भएर निर्धारित कोर्स पूरा गर्नुपर्ने छ । कोर्स पूरा गरेपछि मात्र उम्मेदवारका रूपमा योग्य मानिने सभापति थापाले बताए ।
महिला उम्मेदवार बढाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई नेतृत्व विकास र प्रशिक्षण कार्यक्रममा सहभागी गराउनुपर्ने उनको भनाइ रहेको छ । पार्टीले विभिन्न समुदायको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य पनि राखेको छ ।
थारु संघसहितका भ्रातृसंस्थालाई सम्भावित महिला उम्मेदवार खोजी, प्रोत्साहन र प्रशिक्षणमा सक्रिय सहयोग गर्न सभापति थापाले आग्रह गरे । अधिवेशन नभएका भ्रातृसंस्था जस्तै नेपाल विद्यार्थी सङ्घको नेतृत्व एक–दुई दिनभित्र चयन गरिने उनले जानकारी दिए ।














