
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमोनियाको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्यापछि हिजोदेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भइ उपचाररत् प्रचण्डको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । अस्पतालका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा दाहाललाई ‘माइल्ड निमोनिया’ (सामान्य निमोनिया) को संक्रमण देखिएको छ ।
‘चिकित्सक टोलीको मूल्याङ्कनपछि उहाँमा सामान्य निमोनियाको संक्रमण पुष्टि भएको छ, जसका लागि आवश्यक अनुसन्धान र उपचार प्रक्रिया सुरू गरिसकिएको छ,’ अस्पतालले भनेको छ ।
दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखिन थालेको अस्पतालले जनाएको छ । पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न अझै २ देखि ३ दिन अस्पतालमै राखेर निगरानी गरिने चिकित्सकहरूले बताएका छन् ।















