काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेपछि बैंकले नाफामा कमब्याक गरेको सन्देश दिन खोजिएको छ । गत वर्ष यही अवधिमा बैंकको नाफा जम्मा २८ करोड ५८ लाख रुपैयाँ थियो । त्यसको तुलनामा १३६१ प्रतिशतको उछाल सतहमा हेर्दा प्रभावशाली देखिन्छ । तर बैंकको वित्तीय विवरण गहिरिएर हेर्दा यो नाफाभन्दा ठूलो प्रश्न बैंकको नेतृत्वमाथि उठिरहेको छ ।

कुमारी बैंकको नाफा वृद्धि वास्तविक व्यवसाय विस्तार वा आक्रामक बैंकिङ रणनीतिबाट आएको होइन । यसको मुख्य कारण हो-कर्जा नोक्सानी व्यवस्थामा गरिएको ठूलो कटौती हो । गत वर्ष तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ ‘इम्पेयरमेन्ट चार्ज’ छुट्याएको थियो । यस वर्ष त्यो रकम घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ । अर्थात् बैंकले साढे ३ अर्ब रुपैयाँभन्दा बढी खर्च कम गरेपछि नाटकीय रुपमा नाफा स्वतः माथि पुगेको हो ।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ, के बैंक वास्तवमै सुधारिएको हो, वा केवल लेखा व्यवस्थापनको सहारामा नाफा नाटकीय रुपमा बढाइएको हो ?
सीईओ रामचन्द्र खनाल कार्यकारी प्रमुख भएर आएपछि नेतृत्वमा बैंकको मुख्य व्यवसायिक सूचकहरू अझै कमजोर नै देखिन्छन् । चैत मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ६.९४ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रमा यस्तो अनुपातलाई जोखिमपूर्ण मानिन्छ । अझ खुद निष्क्रिय कर्जा २.६९ प्रतिशत रहनुले बैंकले खराब ऋणको वास्तविक दबाब अझै झेलिरहेको तथ्यांकबाट स्पष्ट हुन्छ ।
यति मात्र होइन, बैंकको स्प्रेड दर पनि घट्दो क्रममा छ । गत वर्ष ३.५२ प्रतिशत रहेको स्प्रेड दर अहिले ३.१३ प्रतिशतमा झरेको छ । यसको अर्थ बैंकले कर्जा र निक्षेपबीचको आम्दानी अन्तर जोगाउन सकिरहेको छैन । बैंकिङ व्यवसायको मूल नाफा क्षमतामै दबाब देखिनु नेतृत्व असफलताको संकेतका रूपमा हेरिएको छ ।
कर्जा विस्तारको अवस्था पनि उत्साहजनक छैन । चैतसम्म बैंकले २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन असार मसान्तको तुलनामा जम्मा ४.९१ प्रतिशत वृद्धि हो । निक्षेप वृद्धि पनि ४.६६ प्रतिशतमै सीमित छ । बजारमा ब्याजदर घटिरहेको, तरलता प्रशस्त रहेको र बैंकहरू कर्जा विस्तारको प्रतिस्पर्धामा रहेको अवस्थामा कुमारी बैंकको यस्तो सुस्त वृद्धि व्यवस्थापनको कमजोर रणनीतिको संकेत मानिएको छ ।
कुमारी बैंक अहिले एउटा संवेदनशील मोडमा उभिएको छ । यदि नेतृत्वले वास्तविक व्यवसायिक सुधार, खराब कर्जा नियन्त्रण र दीर्घकालीन रणनीतिमा ध्यान दिन सकेन भने आज देखिएको नाफा भोलि फेरि दबाबमा पर्न सक्छ । त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न नाफा होइन-नेतृत्वको क्षमता हो ।
बैंकले खुद ब्याज आम्दानी १७.८ प्रतिशत बढाएर ९ अर्ब ३० करोड रुपैयाँ पु¥याएको छ भने फी तथा कमिसन आम्दानी २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । तर यी सुधारले पनि बैंकको आधारभूत समस्या छोप्न सकेका छैनन् । कारण, बैंक अझै सञ्चित नोक्सानीको भारबाट पूर्ण रूपमा मुक्त भएको छैन । चैत मसान्तसम्म बैंकमा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानी बाँकी छ । केही वर्षअघि आक्रामक विस्तार र कमजोर जोखिम व्यवस्थापनको असर अझै बैंकले बोकेकै छ ।
यस्तो अवस्थामा सीईओ रामचन्द्र खनालको नेतृत्वमाथि बैंकभित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्न थालेको छ । आलोचकहरू भन्छन्, यदि बैंक वास्तवमै सुधारिएको हो भने किन निष्क्रिय कर्जा अझै ७ प्रतिशत नजिक छ ? किन व्यवसाय विस्तार कमजोर छ ? किन स्प्रेड दर घटिरहेको छ ? र किन नाफाको मुख्य आधार जोखिम खर्च घट्नु बनेको छ ?
विश्लेषकहरूका अनुसार कुमारी बैंक अहिले संरचनात्मक सुधारभन्दा वित्तीय सजावटमा बढी केन्द्रित देखिएको छ । त्रैमासिक नाफाको ठूलो अंक देखाएर बैंक बलियो भएको सन्देश दिन खोजिए पनि आधारभूत सूचकहरूले भने त्यस्तो पुष्टि गर्दैनन् ।
कुमारी बैंक अहिले एउटा संवेदनशील मोडमा उभिएको छ । यदि नेतृत्वले वास्तविक व्यवसायिक सुधार, खराब कर्जा नियन्त्रण र दीर्घकालीन रणनीतिमा ध्यान दिन सकेन भने आज देखिएको नाफा भोलि फेरि दबाबमा पर्न सक्छ । त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न नाफा होइन-नेतृत्वको क्षमता हो ।














