Logo
Logo

फिर्केखोलाका १६० वटा संरचना हटाइयो


504
Shares

पोखरा । फिर्केखोलाको खोलाघर सफाइ अभियानलाई तीव्रता दिँदै पोखरा महानगरपालिकाले खोलाघरभित्र रहेका संरचनाका भग्नावशेष हटाउने तथा ढल व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: dojar-pokhara-phirke-khola.jpg

महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटबाट फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र रहेका स्थायी तथा अस्थायी गरी १६० वटा संरचना हटाइएको छ । महानगरले उक्त अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेको छ ।

आंशिक रूपमा भत्काइएका तर पूर्ण रूपमा हटाउन बाँकी रहेका संरचनाका धनी तथा सम्बन्धित संस्थाले आफूले जनाएको लिखित प्रतिबद्धताअनुसार तोकिएको समयभित्र संरचना हटाउन महानगरपालिकाले आग्रह गरेको छ ।

संरचना हटाउने क्रममा निस्किएका भग्नावशेष सफा गर्न उत्खनन उपकरणसहित प्राविधिक टोली र महानगरीय प्रहरी परिचालन गरिएको जनाइएको छ । यस कार्यमा पनि नगरवासीको निरन्तर सहयोग आवश्यक रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले केही व्यक्तिले प्रत्यक्ष रूपमा फिर्केखोलामा ढल मिसाइरहेको पाइएको भन्दै १० दिनभित्र मापदण्डबाहिर सुरक्षित ढल सङ्कलन ट्याङ्की तथा सोख्ता निर्माण गरी खोलामा ढल बगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । अन्यथा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

यस्तै, भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० अनुसार फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको जानकारी दिँदै महानगरपालिकाले उक्त ६ मिटर क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

महानगरपालिकाले फिर्केखोलाको मापदण्डभित्र निर्माण भएका संरचनाको अवस्था तथा फिर्केखोला करिडोर निर्माण परियोजनाबारे थप जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्