Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माबिच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा पूर्वगृह र ऊर्जा तथा जलस्रोतमन्त्री तथा संघीय सांसद जर्नादन शर्माको उपस्थित पनि रहेको थियो । सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समूह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा शर्माले देश स्रोत साधनमा धनी हुँदाहँुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीको आधारमा लगानी गरिने लघुवित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनीकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमूनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा १६६० जनालाई एक अर्ब २८ करोड रुपैयाँभन्दा बढी बिनाधितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्