काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथामलाई नै सबैभन्दा प्रभावकारी उपायका रूपमा अघि सारिने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा उनले यस विषयमा सरकारले विशेष सुधार योजना ल्याउने तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार लागुऔषध नियन्त्रण केवल पक्राउ र कारबाहीमा सीमित नभई यसको मूल कारणमै ध्यान दिनुपर्ने आवश्यकता छ।
सीमा निगरानी कडाइ गर्ने तयारी
गृहमन्त्री गुरुङले नेपाल–भारत सीमा हुँदै लागुऔषधको ओसारपसार भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडाइ गर्ने बताए। उनले नेपालबाट गाँजा भारततर्फ जाने र भारतबाट रासायनिक लागुऔषध नेपाल भित्रिने प्रवृत्ति देखिएको उल्लेख गरे।
यसका लागि भारतको एसएसबी तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर संयुक्त अपरेसन सञ्चालन गर्ने योजना रहेको उनले बताए। “क्रस–बोर्डर पेट्रोलिङ र सर्भिलेन्स बढाएर स्रोत नै रोक्नुपर्छ,” उनले भने।
शिक्षा र सचेतनामा जोड
सांसदहरूले उठाएको कल सेन्टरमार्फत सचेतना फैलाउने र विद्यालय तहको पाठ्यक्रममै लागुऔषधविरुद्धका सामग्री समावेश गर्ने सुझावमा गृहमन्त्री सहमत देखिए।
बालबालिकामा देखिने जिज्ञासालाई सही दिशामा मार्गदर्शन गर्न नसकिए जोखिम बढ्ने भन्दै उनले शिक्षा, सचेतना र रोकथाममूलक कार्यक्रमहरूमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए।
सरकारले लागुऔषध नियन्त्रणलाई दीर्घकालीन रणनीतिका साथ अघि बढाउने तयारी गरिरहेको पनि उनले स्पष्ट पारे।














