Logo
Logo

नगद वितरणले मात्र गरिबी घट्दैनः अर्थमन्त्री


252
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटले नगद वितरणलाई प्रथामिकता नदिएको स्पष्ट पारेका हुन् । तर सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती नगरिएको उनको भनाई छ । बरु केही क्षेत्रमा थप विस्तार गरिएको उनले जानकारी दिए ।

मानिसलाई सधैं सहायता लिने अवस्थामा राख्ने नभई आम्दानी आर्जन गर्ने अवस्थामा पु¥याउने सरकारको लक्ष्य रहेको उनको भनाई छ । गरिबी न्युनिकरणको सबैभन्दा प्रभावकारी उपाय स्थायी रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको उल्लेख गर्दै उनले सरकारले आगामी बजेटमा त्यही लक्ष्यलाई प्राथमिकतामा राखेको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनाको लागी कृषि, उधम तथा निजी क्षेत्रलाई सशक्त बनाईने बताए । सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई केन्द्रमा राखेर आर्थिक नीति अघि बढाएको पनि उनको भनाई छ । राज्यले सबै काम आफैं गर्ने वा निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने पुरानो सोच त्यागिएको उनले बताए ।

उनले बजारले मात्र सबै समस्या समाधान गर्छ भन्ने अतिवादी दृष्टिकोणबाट पनि सरकार टाढा रहेको बताए । अर्थमन्त्री वाग्लेले बजारको निर्माण, नियमन र स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी राज्यकै भएको बताउँदै प्रतिष्पर्धात्मक अर्थतन्त्रमार्फत समतामूलक समृद्धि हासिल गर्न बलियो राज्य आवश्यक पर्ने उल्लेख गरे । सरकारले नियामकीय निकायहरूलाई सुदृढ बनाउने नीति लिएको उनको भनाई छ ।

विगतमा नियामकीय अभ्यास विकृत बन्दै गएकोका कारण क्रोनी क्यापिटलिज्म र आर्थिक कब्जाजस्ता प्रवृत्ति देखिएको उनले बताए । त्यस्ता विकृतिलाई अन्त्य गरेर अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्