Logo
Logo

ग्रेटर नेपालको नक्सा देखाएर संसदमा प्रधानमन्त्रीको राष्ट्रघात


शरद रिजाल

756
Shares

नेपालले भारतीय भूमि मिचेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्ट्रममै बोलेको राष्ट्रघाती अभिव्यक्तिले यतिबेला नेपाली राजनीति तरंगित बनेको छ । उनको नेपालले भारतीय भूमि मिचेको अभिव्यक्तिको पराकम्प आउने क्रम जारी छ । मुलुककै कार्यकारी प्रमुखले आफ्नो अतिक्रमित सीमाको रक्षा गर्दै भारत अधीनस्थ भूमि फिर्ता ल्याउनुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि अहिले बालेन विरुद्ध देशभक्त नेपाली आक्रोशित भएका छन् ।

नेपालको आजको भौगोलिक आकार सुगौली सन्धिले निर्धारण गरेको हो । त्यसअघिको दुई तिहाइ विशाल भूमि गुमाएर नेपाल अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीमै सीमित भएको छ । अझै पश्चिमका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर समेत सुगौली सन्धिबाट गुमेको भूभाग धेरैपछि नेपालले फिर्ता पाएको हो । त्यसैले अहिले पनि ती जिल्ला‘नयाँ मुलुक’का रूपमा परिचित छन् ।

सुगौली सन्धिको वैधानिकताको विषयमा तर्क विरक्त आजपर्यन्त जारी छ । बेलायत प्रशासित भारतको इष्ट इन्डिया कम्पनीसँग सन् १८१६ को सुगौली सम्धीकै उपज हाम्रो मुलुक आजको न्यून आकारमा खुम्चिए पनि स्वतन्त्रता र सार्वभौमिकता भने त्यतिबेलादेखि आजसम्म अकण्टक रहेको छ ।

इतिहासका कालखण्डमा विभिन्न मुलुकको भौगोलिक आकार घटबढ हुने क्रम स्वाभाविक प्रक्रिया नै हो । तर मुख्य कुरा त्यो मुलुकको सार्वभौमिकता चाहिँ अक्षुण रह्यो भने मात्रै त्यसको स्वतन्त्र अस्तित्व कायम रहन्छ । करिब दुई तिहाइ भूभाग गुमाएर भए पनि आफ्नो स्वतन्त्र र सार्वभौम आजपर्यन्त अनेकौँ चुनौतीको सामना गर्दै कायम रहेकाले नेपाल विश्वभर सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा परिचित छ ।

तर, विगतमा त्यही सुगौली सन्धिले गुमाएको भूभाग समेत नेपालको भएको सन्देश दिन आफ्नै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका हालका प्रधानमन्त्री बालेन्द्र शाह नै नेपालले भारतको सीमा मिचेको देशघाती अभिव्यक्ति दिन थालेका छन् । यो उनले विगतमा दर्साएको ग्रेटर नेपालको मोह फगत भ्रम र झुटको पुलिन्दा भएको पुष्टि गरेको छ । उनले सुगौली सन्धिमार्फत गुमेको भूभागसहितको ग्रेटर नेपालको तस्बिर काठमाडौं महानगर प्रमुख हुँदा आफ्नो कार्यकक्षमा टाँसेर देखाएको राष्ट्रवादी मुखुण्डो अहिले उतारिएको छ ।

केही समय अघि दिएको मुलुकको हालकै कतिपय सीमा समेत भारतीय पक्षको भएको गैर जिम्मेवार र देश विरोधी अभिव्यक्तिले उनको राष्ट्रवादी छवि उदांगिएको छ । उनले त्यही ग्रेटर नेपालको नक्साको आवरणमा राष्ट्रवादी चरित्र देखाएर जनमत आकर्षित गरेका थिए । तथापि, अहिले नेपालका सीमा क्षेत्रका भूमि समेत भारतको भएको भन्दै गम्भीर राष्ट्रघाती अक्षम्य अपराध गरेका छन् । उनको अभिव्यक्तिले नेपालले उपभोग गर्दै आएको कतिपय भूमि पनि भारतीय पक्षकै रहेको आशय प्रकट गर्दछ । यो सार्वभौमसत्ता सम्पन्न नेपालीका लागि असह्यै हुने देशद्रोही अभिव्यक्ति हो ।

नेपालको अधिकांश सीमा क्षेत्रमा भारतीय ज्यादती विद्यमान छ । त्यहाँका नेपालीले आफ्नो ज्यान दिएर भूमि जोगाउने प्रयत्न गरेका छन् । कञ्चपुरका गोविन्द गौतमले आफ्नो देशको भूमि जोगाउन खोज्दा भारतीय पक्षबाट मारिनुपरेको थियो । देशको सीमा जोगाउन अहोरात्र खटिएर ज्यान गुमाएका ती देशभक्त नेपालीप्रति बालेनले अपमान गरेका छन् । उनको नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति गोविन्द गौतम जस्ता सहिदप्रतिको अपमान र सीमा क्षेत्रका नेपालीको देशभक्तिपनमाथिको उपहास हो ।

बालेनको अभिव्यक्तिपछि भारतीय पक्षको मनोबल बढेको छ । भारतीय सीमा सुरक्षार्थ खटिएका एसएसबी अहिले नेपाली सीमा क्षेत्रमा आएर विकास निर्माणका काममा अवरोध सिर्जना गर्न थालेका छन् । नवलपरासीको सुस्ता, झापाको महेशपुर, कञ्चनपुरको बेलौरी लगायतका सीमा क्षेत्रमा भारतीय गतिविधि बढेको छ भने कालापानी क्षेत्रमा लामो समयदेखि भारतीय सैन्य उपस्थिति कायमै छ ।

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाली भूमिको सडकमा समेत भारतीय पक्षले स्तरोन्नति गर्न दिएको छैन । त्यहाकाँ सीमावासी किसानको लालपुर्जा भएको आफ्नो जग्गा समेत भारतीय पक्षले कब्जा गरेर भोगचलन गर्न दिएको छैन । आफ्नै देशका सीमा क्षेत्रका नागरिकको सम्पत्तिको संरक्षण र सुरक्षा गर्ने दायित्वबाट विमुख भएर बालेनले पूर्णतया भारतीय अतिक्रमणलाई प्रश्रय दिने अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा थप प्रताडित भएका छन् ।

आफ्नै देशको भूमि र नागरिकको हित विरुद्धमा बोलेर वर्षौँदेखि नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतको विस्तारवादी नीतिलाई टेवा पु¥याउने उनको देश विरोधी अभिव्यक्ति सर्वथा निन्दनीय छ । यसरी प्रधानमन्त्री बालने नै सीमा क्षेत्रका जनतालाई सीमा अतिक्रमण गरेर प्रताडित गराउँदै आएको विषय नजरअन्दाज गर्दै उल्टै भारतीय पक्षलाई हित पुग्नेगरी सीमा मिचेको अभिव्यक्ति दिएर इतिहासमै कलंकित प्रधानमन्त्री बनेका छन् । आफ्नै देशको भूमि कालापानी क्षेत्रमा लामो समयदेखि भारतले सैन्य उपस्थिति सहित कब्जा गरेको सार्वजनिक तथ्य जगजाहेर हुँदाहुँदै नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिनु भनेको मातृभूमिप्रतिको गद्दारी हो ।

सीमा क्षेत्रका बासिन्दाले दशगजा क्षेत्रभित्र गरेको सामान्य कृषि कर्मलाई सीमा अतिक्रमण भनिँदैन । त्यो नागरिक स्तरबाट भएको सामान्य कमजोरी मात्रै हो । तर राज्यस्तरबाटै स्वतन्त्र मुलुकको सीमा क्षेत्रभित्र आफ्नो सैन्यबलसहित उपस्थिति जनाउँदै प्रशासनिक अधीनस्थ कायम गर्नुलाई मात्रै अर्काको देशको भूमि कब्जा गरेको भनिन्छ । भारतले अहिले नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रमा आफ्नो सैन्य उपस्थितिसहित प्रशासनिक कार्य सञ्चालन गर्दै आएको छ ।

त्यस क्षेत्रका कुटी, नाभि र गुञ्जी गाउँमा नेपालको उपस्थिति हुन नसक्दा त्यहाँ पनि भारतीय वर्चस्व कायम छ । यी सबै तथ्य ज्ञात हुँदाहुँदै पनि नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिने प्रधानमन्त्री बालेनको देशविरोधी कदमको सबै देशभक्त नेपालीले प्रतिरोध गर्न आवश्यक छ । आफ्नै देशको भूमि मिच्ने छिमेकी मुलुकमाथि सहानुभूति दर्शाए जसरी उल्टै आफूले भूमि मिचेको संसदबाटै सार्वजनिक अभिव्यक्ति दिने बालेन इतिहासकै कलंकित र नालायक प्रधानमन्त्री साबित भएका छन् ।

विश्वका साम्राज्यवादी मुलुकले समेत स–साना राष्ट्रलाई आफ्नो देशमा विलय गराएर त्यसको स्वामित्व लिए पनि गर्वका साथ आधिपत्य कायम गरेको उद्घोष गर्दैनन् । त्यसलाई अनेकौँ तवरले आफ्नै भूमि भएको नजिर पेश गर्दै आएको दृष्टान्त छ । तर, हाम्रा जस्तो जटिल भूराजनीतिक अवस्थितिमा रहेको सानो एवं कमजोर मुलुकका प्रधानमन्त्रीले अन्य देशको भूमि आफूले मिचेको गैर जिम्मेवार अभिव्यक्ति संसद्को रोष्ट्रमबाटै निर्लज्जतापूर्वक सार्वजनिक घोषणा गर्नु उनको अनविज्ञता नभएर नियतवश प्रकट भएको राष्ट्रघात हो ।

उनले प्रधानमन्त्री भएपछि मात्रै भारतीय भूमि नेपालले मिचेको जानकारी पाएको भन्दै अज्ञानता प्रकट गर्न खोजे पनि विगतमा मेयर हुँदा ग्रेटर नेपालको नक्सा कुन प्रयोजन र के आधारमा राखेका हुन् ? काठमाडौंको मेयर हुँदा सीमाबारे विज्ञता प्रदर्शन गर्दै दुई सय वर्ष पुरानो सुगौली सन्धि अघिको नेपाली भूमिबारे जानकारी हुने उनलाई अहिलेको सीमासम्बन्धी जानकारी प्रधानमन्त्री भएपछि मात्रै भएको भनेर सर्वाङ्ग नाङ्गिएका छन् । यस घटनाले उनको विरोधाभास दर्साउँदै गम्भीर नियतजन्य कमजोरी उजागर गरेको छ । यो नेपाली राजनीतिक इतिहासकै लज्जास्पद परिघटना हो । यस्तो अभिव्यक्ति स्वाभिमानी नेपालीका लागि किमार्थ स्वीकार्य हुन सक्दैन ।

भारतीय पक्षको लापरबाहीले तुइन चुँडिएर सीमा क्षेत्रका कैयौँ नेपालीको ज्यान गएको छ । जग्गा र लालपूर्जा नेपालीको हातमा तर भूमि भने भारतीयको कब्जामा रहेको देशभर सीमा क्षेत्रका अनगिन्ती घटना छन् ।

प्रधानमन्त्री बालेन भने तिनै सीमा क्षेत्रका नेपालीलाई थप समस्या र संकटमा पार्नेगरी उल्टै नेपालले भारतीय भूमि मिचेको राष्ट्रघाती अभिव्यक्ति दिएर सीमा समस्या झनै बल्झाउन उद्यत देखिन्छन् । सीमा क्षेत्रमा भारतीय ज्यादतीले कैयौँ नेपाली आफ्नो जायजेथा छाडेर हिँड्नुपरेको छ । नेपालीले भारतीय अतिक्रमण विरुद्ध लडेर मृत्युवरण गरेको घाउ सेलाउन नपाउँदै देशकै प्रधानमन्त्री भने ती घटनाप्रति पूर्णतया नजरअन्दाज गर्दै आफैँ र मुलुकप्रति प्रश्न उठाउने वातावरण तयार पार्नु खेदजन्य कार्य हो ।

प्रधानमन्त्री बालेनको यस प्रकारको राष्ट्र विरोधी लज्जास्पद घटनाको बचाउमा उत्रिएको दृश्य भने अझै विडम्बनापूर्ण छ । उनकै पार्टीका कतिपय नेता कार्यकर्ताले बालेनको बचाउ गर्दै प्रधानमन्त्रीकै अभिव्यक्तिकै कारण भारतीय पक्ष सीमाबारे नेपालसँग कुरा गर्न तयार भएको बताएका छन् । अझै, कतिपयले त नेपालले भारतीय भूमि मिचेको दसी प्रमाण जुटाउन अग्रसर देखिन्छन् । लाज पनि लजाउने यस्ता घटनाले आफ्नै सार्वभौमसत्ता कमजोर बनाएर छिमेकीको मनोबल बढ्नेतर्फ हेक्का राख्न जरुरी छ ।
अहिलेसम्म नेपालले भारतीय भूमि मिचेको प्रमाणिक तथ्य कहीँकतैबाट सार्वजनिक हुन सकेको छैन । भारतले समेत दाबी नगरेको विषय नेपालले उल्टै आफैँ स्वघोषणा गर्दै कसलाई खुशी पार्न खोजेको हो ? यो मुलुक र जनतामाथि आघात पु¥याउँदै भारत रिझाउने राष्ट्रघाती कदमको पराकाष्ठा हो ।

अझै बालेनले त सीमा समस्या सल्टाउन तेस्रो पक्ष निम्त्याउने अर्को गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । नेपाल भारतको द्विपक्षीय सीमा समस्यामा तेस्रो पक्ष घुसाउने उद्घोष झनै आपत्तिजनक छ । उनको निहितार्थ ब्रिटिशकालीन सुगौली सन्धिअघिकै नेपालको सीमा कायम गर्ने नरहेको त नेपालले अहिलेकै सीमा क्षेत्रको भूमि मिचेको उनको गैरजिम्मेवार अभिव्यक्तिबाटै प्रस्ट हुन्छ ।

किनभने, अहिलेको सीमा भन्दा कैयाैं गुणा टाढासम्म रहेको भारतीय भूमि तत्कालीन ग्रेटर नेपालको भूभाग हो । तर त्यस विपरीत बालेनले विगतमा देखाएको ग्रेटर नेपालको नक्सा अनुरुप नभएर अहिलेकै सीमाकंन अनुसार नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । आफ्नै देशले अरुको भूमि मिचेको तथ्यहीन अभिव्यक्ति दिएका उनले तेस्रो पक्षले मध्यस्थता गर्नुपर्ने आवश्यकता सीमा समस्यालाई अन्यत्र विषयान्तर गर्ने गैरजिम्मेवार कार्य हो ।

उनको अभिव्यक्तिले मुलुकको सीमा अतिक्रमण गरेर आहत बनाएको भारती पक्षलाई थप प्रश्रय दिने काम गरेकाले उनलाई पदमा बस्ने नैतिक अधिकार छैन । यस्तो देश विरोधी जघन्य अपराध गरेका बालेनले आम नेपाली जनतासँग माफी माग्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै बुद्धिमत्तापूर्ण हुन्छ । अन्यथा, आगामी दिनमा बालेन सरकार, मुलुक एवं नेपाली जनता एकैसाथ सँगै जान नसक्ने गरी जटिल र भयावह अवस्था आउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्