काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लागेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे । निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उनले पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको दाबी गरेका छन् ।
देउवाले भने, ‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन् । यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ ।’
निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको उनको भनाइ छ । एक जना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।
पैसाको प्रभावमा पार्टीको निर्णय गराउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए। उनले पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै १८ करोडमा पार्टी अरूलाई बेच्नेले काँग्रेस जोगाउन नसक्ने दाबी गरे ।
‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ उनले भने । देउवाले आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए ।
देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन् । अदालतबाट आफ्नो पक्षमा निर्णय आउने विश्वासका साथ अघि बढ्ने बताउँदै उनले पार्टीको पहिचान र चुनाव चिह्न रुख कायम रहनेमा आफू आशावादी रहेको बताए ।


















