काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दै छ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाली रहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं’. ८१’ तथा ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ पेस गर्ने कार्यसूची रहेको छ ।














