काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरतराज गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा क्षेत्रमा हस्तक्षेप बढेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमामा राष्ट्रियताको वफादारी गरिरहेका किसानहरूको अपमान भएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको विवादास्पद अभिव्यक्तिका कारण आज सीमामा हस्तक्षेप बढेको छ । यसले सीमामा रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका सुस्ताका वीर किसानहरूको अपमान भएको छ ।’
उनले सुस्तावासीको साहसप्रति सम्मान व्यक्त गर्दै भने, ‘त्यहाँ राज्यको उपस्थिति थिएन, हाम्रा सुरक्षाकर्मी थिएनन्, केवल हाम्रा सोझा हलो जोत्ने किसानहरू थिए । जसले आफ्नो अदम्य साहसले हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ ।’
सांसद गिरीले नेपाल–भारतबिचको खुला सीमा क्षेत्रमा बस्ने लाखौँ नेपालीहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको धारणा माग गरे । उनले सरकारले आगामी हरेक कूटनीतिक बैठकहरूमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।














