काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका सङ्घर्ष र बलिदानको स्मरण गर्दै जनताको मुख्य चाहना सुशासन, प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति रहेको बताएका छन् ।

लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक समयमा राज्य संयन्त्रलाई जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले स्वउत्प्रेरित, अनुशासित, नैतिकवान् र राष्ट्रप्रति समर्पित कर्मचारीहरूले मात्र यो लक्ष्य पूरा गर्न सक्ने बताए ।
प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्ने र यसले लोकतन्त्रप्रतिको भरोसा बढाउने उनको भनाइ भनाइ रहेको छ । राष्ट्रपति पौडेलले संविधानको समावेशी लोकतन्त्रअनुसार स्थापित योग्यता प्रणालीको रक्षा गर्दै यसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
आयोगले मेहनती युवाहरूको भविष्य सुरक्षित गरेको यथार्थलाई स्मरण गर्दै विगतको अनुभव, ज्ञान र विश्वव्यापी सिद्धान्तको अध्ययनबाट आफ्नो प्रक्रियालाई परिष्कृत गर्न सुझाव दिए । उनले कर्मचारी छनौट, बढुवा र परामर्शमा आयोगको योगदान प्रशंसनीय रहेको बताउँदै यसलाई आधुनिक प्रविधिमा आधारित बनाएर समयसापेक्ष परीक्षण विधि अवलम्बन गर्नुपर्ने बताए ।
‘निष्पक्षता र योग्यता’ आयोगको मुख्य कसी भएको उल्लेख गर्दै यो भरोसालाई थप सुदृढ बनाउन आयोगले निरन्तर मेहनत गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।














