काठमाडौँ । नेपालमा अहिले राजनीतिक स्थिरताको एउटा बलियो आधार खडा भएको छ। एउटै दलले स्पष्ट बहुमत ल्याएर सरकार सञ्चालन गरिरहेको यो समयमा देशको विकास र समृद्धिको एजेन्डाले नयाँ उचाइ पाउने अपेक्षा गरिएको छ।

बहुमतको सरकार र राजनीतिक सुनिश्चितता भएको यस्तो बेलामा अबको १०–१५ वर्षपछिको नेपाल कस्तो बनाउने भन्नेमा बौद्धिक बहस पनि उत्तिकै जरुरी छ। यही आवश्यकतालाई मध्यनजर गर्दै आगामी शुक्रबार काठमाडौँमा ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुन लागेको छ। भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको ‘द ब्लु प्याभिलियन’ मा बिहान ११ बजेदेखि सुरु हुने यो बहसले आगामी दशकको नेपालको चित्र कस्तो हुनुपर्छ र हाम्रा सम्भावना के हुन् भन्ने विषयमा गहन मन्थन गर्नेछ।
फोरमका संयोजक अब्दुस मियाका अनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री डा. प्रकाश श्रेष्ठले सन् २०३५ सम्मको नेपालको आर्थिक समृद्धिको दृष्टिकोणबारे आफ्नो धारणा राख्नेछन्। स्थिर सरकार भएको अहिलेको अवस्थामा लगानी, व्यापार, जलविद्युत् र नवप्रवर्तनका क्षेत्रमा नेपालले कसरी फड्को मार्न सक्छ भन्ने विषयमा बहस केन्द्रित हुनेछ।
प्रविधिको यो तीव्र गतिमा नेपालले आफूलाई कहाँ उभ्याउँछ भन्ने विषय पनि फोरमको मुख्य एजेन्डामा छ। टेकपानाका विजय तिमिल्सिनाले सहजीकरण गर्ने एउटा विशेष सत्रमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) ले नेपालको भविष्य कसरी बदल्न सक्छ भन्नेमा छलफल हुनेछ। जसमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, एआई विज्ञ डा. दोवन राई, क्षितिज रिमाल र सहप्राध्यापक रोमकान्त पाण्डेयले नेपाली माटो सुहाउँदो डिजिटल भविष्यबारे जानकारी दिनेछन्।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक कनकमणि दीक्षितले आगामी दशकमा नेपालले लिनुपर्ने सही बाटोका बारेमा आफ्ना कुरा राख्नेछन् भने त्यसलगत्तै हुने राजनीतिक संवादमा विभिन्न दलका युवा सांसदहरूको सक्रिय सहभागिता रहनेछ। रुपेश श्रेष्ठले सहजीकरण गर्ने यो सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक, नेपाली कांग्रेसका निश्कल राई, नेकपा (एमाले) का क्षितिज थेबे र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपालको लोकतान्त्रिक अभ्यास र सुशासनबारे आफ्ना धारणा राख्नेछन्।
कार्यक्रममा ‘फ्युचर टक्स’ अन्तर्गत विभिन्न क्षेत्रका उदीयमान अगुवाहरूले आफ्ना अनुभूति र भिजन प्रस्तुत गर्नेछन्। यसअन्तर्गत डा. छिरिङ लामाले नवप्रवर्तन, नवराज कुँवरले पत्रकारिताको विश्वसनीयता र अनिल पोखरेलले नेपालले सामना गर्नुपर्ने सम्भावित विपद्को तयारीबारे कुरा गर्नेछन्। त्यस्तै रवि किरण हमालले नयाँ पुस्ताको राजनीति, आश्रा कुँवरले जलवायु परिवर्तन र माजिद अन्सारीले संवैधानिक संरचनालाई बलियो बनाउने विषयमा मन्थन गर्नेछन्।
नीति निर्माता, व्यवसायी र युवा अगुवाहरूलाई एउटै थलोमा ल्याएर गरिने यस्तो संवादले नेपालको विकासका लागि सही दिशामा अघि बढ्न र दीर्घकालीन योजना बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। यो संवादलाई अनलाइनमार्फत पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।














