Logo
Logo

यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनका लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: rasapa-6.jpg

निर्वाचन आयोगको सचिवालयद्वारा जारी कार्यतालिका अनुसार आगामी असार ६ गतेदेखि निर्वाचनका प्रारम्भिक प्रक्रियाहरू सुरु भई असार ९ गते मतदान र मतपरिणाम घोषणा भएसँगै पहिलो चरणका कार्यक्रमहरू सम्पन्न हुनेछन् ।

निर्वाचन प्रक्रियाको सुरुवात स्वरूप आज असार ६ गते राती ८: ३० बजे पार्टीको आधिकारिक वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उक्त नामावलीउपर दाबी-विरोध गर्न चाहनेहरूका लागि असार ७ गते राती ८: ३० बजेसम्मको समय तोकिएको छ, जसका लागि चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको निर्वाचन आयोगको सम्पर्क सचिवालयमा वैधानिक प्रक्रिया पूरा गर्नुपर्नेछ । प्राप्त दाबी-विरोधमाथि कारबाही गरी सोही दिन राती ११ बजेसम्म महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ र त्यसको सूचना सम्पर्क सचिवालयमा टाँस गरिने जनाइएको छ।

महाधिवेशनको सबैभन्दा व्यस्त कार्यतालिका असार ८ गतेका लागि तय गरिएको छ, जहाँ उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू एकैदिन सम्पन्न गरिनेछ । सो दिन दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । मनोनयन दर्ता सकिए लगत्तै साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उक्त सूचीमा रहेका उम्मेदवारहरूविरुद्ध दाबी९विरोध गर्नका लागि साँझ ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको समय उपलब्ध गराइनेछ । साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी९विरोध परेका उम्मेदवारहरूमाथि आवश्यक छानबिन र जाँचबुझ गरिनेछ । जाँचबुझपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि बेलुकी ९: १५ बजेसम्मको अन्तिम समय दिइनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि असार ९ गते पहिलो चरणको मतदान हुने कार्यतालिका छ । पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि हुने उक्त मतदान बिहानको ८:३० बजेदेखि दिउँसोको ३ बजेसम्म सञ्चालन हुनेछ । मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको ठीक २ घण्टापछि मतगणना सुरु गरिने र लगत्तै मतपरिणामको घोषणा गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यसैबीच, पहिलो चरणको मतपरिणाम आएपछि दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने जानकारी समेत आयोगले दिएको छ।

प्रतिक्रिया दिनुहोस्