काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्रको बेथिति, पूर्वाग्रहपूर्ण कारबाही र विधान विपरीत गतिविधिको विरोधमा केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेको बताएका छन् । आइतबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले असार ५ र ६ गते काठमाडौंमा बसेको बैठकमा अनुपस्थित रहनुको कारण स्पष्ट पारेका हुन् ।

‘पार्टीप्रतिको प्रतिबद्धता अटल छ,’ वक्तव्यमा भनिएको छ, ‘तर सङ्कुचित सोच, पक्षपात र अनुशासनको नाममा प्रतिशोधपूर्ण कारबाहीका विरुद्ध साङ्केतिक विरोध स्वरूप बैठक बहिष्कार गर्नुपरेको हो ।’ पूर्वअध्यक्षत्रयले पार्टी अहिले वैचारिक, सङ्गठनात्मक तथा रणनीतिक चुनौतीमा रहेको उल्लेख गर्दै यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले केन्द्रीय समितिको बैठकमा बाहिरी व्यक्तिलाई सहभागी गराउने परिपाटीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहेको उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गरी पार्टीभित्रको निराशा र अविश्वास अन्त्य गर्नुपर्ने उनीहरूको सुझाव छ । तीनै पूर्वअध्यक्षले आगामी २०८३ मङ्सिर २६ गते महाधिवेशन गर्ने निर्णयको स्वागत गरेका छन् र वर्तमान केन्द्रीय समितिलाई स्वतः महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न माग गरेका छन् ।
‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन । हाम्रो एक मात्र चिन्ता पार्टी कमजोर नहोस् भन्ने हो,’ उनीहरूले भनेका छन् । पार्टी छाडेर गएकाहरूलाई फर्किन र कार्यकर्तालाई महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै उनीहरूले ‘हिन्दु राष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र’ लाई आधार बनाएर स्पष्ट वैचारिक मार्गदर्शन दिनुपर्ने बताएका छन् ।
















