चितवन । चितवनमा जारी रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन ढिलो भएको छ । प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र ढीलो भएको हो ।

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अझै सुरु हुन सकेको छैन ।
निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरूले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।
अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरूको उल्लेख्य भिडभाड छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, साङ्गठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको छ ।
बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।














