Logo
Logo

‘मिडफिल्डर’ रविको पासः बालेनलाई ढाडस कि आफैँ ‘स्ट्राइकर’ बन्ने दाउ ?


378
Shares

The current image has no alternative text. The file name is: 2083-03-08-THE-VIEW-RSP-Mahadhibeshan-THUMBNAIL.jpg

काठमाडौं । अहिले चर्चाको शिखरमा रहेका दुई महाकुम्भ- फिफा विश्वकप र रास्वपा महाधिवेशन । चितवनको मञ्चबाट रवि लामिछानेले बालेन शाहलाई “तिमी गोल हान, म पास दिन्छु’ भनिरहँदा राजनीतिमा अर्कै ‘गेम चेन्जर’ भित्री खेल सुरु भएको त होइन रु भन्ने प्रश्न उठेको छ । एकातिर रविमाथिका कानुनी मुद्दाहरू एकपछि अर्को खारेज हुँदै गर्दा बार्गेनिङ पावर बढ्दै जानु, अर्कोतिर प्रधानमन्त्री बालेन विवादको घेरामा फस्दै जानु । जसले संशय पैदा भएको छ- कतै मिडफिल्डर रवि आफैँ स्ट्राइकर बनेर गोली हान्ने तयारीमा त छैनन् ? 

यतिबेला उत्तर अमेरिकामा फुटबलको महाकुम्भ फिफा विश्वकपको रौनक छ, जसले नेपाललाई पनि नछुने कुरै भएन । यही विश्वकपी रौनकका बीच चितवनको गर्मीमा भइरहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनले देशको राजनीतिक तापक्रम पनि उत्तिकै बढाएको छ । आइतबार महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले फुटबलकै भाषा र विम्ब प्रयोग गरेर पार्टीको एउटा गम्भीर चित्र कोर्ने प्रयास गरेका छन् । उनले भने– ‘गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेनको हो, झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’

रवि लामिछानेको यो अभिव्यक्ति केवल एउटा भाषण मात्र होइन, यसभित्र गहिरो राजनीतिक अर्थ र रणनीतिक संकेत लुकेको छ। त्यसैले राजनीतिक वृत्तमा यतिबेला यो अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । कसैले रविलाई ‘स्ट्राइकर’का रूपमा स्थापित गर्न खोजिरहेको चर्चा चलिरहँदा उनले भने आफूलाई पूर्वसहमति अनुसार नै ‘मिडफिल्डर’ अर्थात् अरूका लागि अवसर सिर्जना गरिदिने भूमिकामै रहने विश्वास दिलाएका छन् । तर, उनको यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेनलाई आश्वस्त पार्ने रणनीतिक कदमका रूपमा अर्थ्याएका छन् ।

त्यसो त केही समयअघि एमालेका प्रमुख सचेतक ऐन महरले सर्वदलीय बैठकमा रवि स्वयं प्रधानमन्त्री बन्नुपर्ने विषय उठाएका थिए । गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखेर विपक्षी दलहरूले सदन अवरोध गरेपछि जेठ २५ गते रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । त्यहाँ रवि र विपक्षी दलका नेताहरू आपसमा खुल्दै गएपछि केही अनौपचारिक कुराकानीले प्राथमिकता पाएको थियो र रविको प्रधानमन्त्री बन्ने सम्भाव्यताबारे पनि चर्चा भयो । सायद, त्यसैले होला रविले ‘मुख मिठ्याउनेहरू धेरै छन्’ भन्दै कटाक्ष समेत गर्न भ्याए ।

तर, रवि र बालेनबीचको सम्बन्ध सुमधुर नरहेको चर्चा राजनीतिक वृत्तमा चल्दै आएको छ । त्यसैलाई चिर्नका लागि आइतबार रवि र बालेन एउटै गाडीमा महाधिवेशनस्थल पुगेर आफूहरू एकजुट रहेको सन्देश दिन खोजेका थिए । तर, सम्बोधनका क्रममा रविले रास्वपाभित्र सुषुप्त रूपमा रहेको खटपट र गुटबन्दीको चित्रलाई लुकाउन सकेनन् । त्यसैले रविले आफ्नो दल बाहिरी प्रहारले भन्दा पनि आन्तरिक कमजोरीले ढल्न सक्ने खतराप्रति पार्टी पंक्तिलाई सचेत गराए ।

यसको अर्थ स्पष्ट छ– रास्वपाका लागि पुराना राजनीतिक दलहरू वा बाह्य घेराबन्दी त्यति ठूलो चुनौती होइनन्, जति पार्टीको आन्तरिक एकता, अनुशासन र सहयात्रीहरूबीचको तालमेल हो । रवि र बालेनका नाममा तलसम्मै नेता–कार्यकर्ता विभाजित भएका छन् र गुट बनाएर आफ्नो वर्चस्व स्थापित गर्न तल्लीन देखिन्छन् । त्यसैले दुवै नेताहरूले कार्यकर्तालाई गुटउपगुटमा नलाग्न मञ्चबाटै चेतावनी दिए ।

व्यक्तिगत रूपमा पनि रविले प्रधानमन्त्री पद त्यागेर बालेनलाई अघि सारेका हुन् । रवि र बालेन मिलेपछि रास्वपाले अभूतपूर्व जनसमर्थन प्राप्त गरेको थियो । सोही समर्थनमा, पूर्वसहमति अनुसार बालेन झन्डै दुईतिहाइ बहुमतसहित शक्तिशाली सरकारका प्रधानमन्त्री बनेका हुन् । तर, यी दुई नेताबीच विपरीत स्वभाव र शैली स्पष्ट रूपमा देखिन्छ । स्वभावका हिसाबले रवि बहिर्मुखी छन् भने बालेन अन्तर्मुखी । स्वभावगत फरकपनाले पनि दुई जनाको राजनीतिक केमेस्ट्रीमा टीकाटिप्पणी हुँदै आएको छ । बालेन नबोलेकै कारण सरकारको कार्यशैलीमा उठेका प्रश्नको जवाफ पनि रविले नै दिइराख्नु परेको छ । 

 बाँकी भिडियोमा 

प्रतिक्रिया दिनुहोस्