Logo
Logo

कांग्रेसबाट निर्वाचित दुई पालिका अध्यक्ष र १ उपाध्यक्ष पदमुक्त


1.3k
Shares

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेपछि पद रिक्त भएको हो ।

निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको नाम पनि छ ।

उनीसँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बिष्णु ढकाल पनि पदमुक्त भएको निर्वाचन आयोगको सूचनामा उल्लेख छ । अन्सारी र ढकाल पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए । उनी हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरु पदमुक्त भएको जनाएको छ । त्यसमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले तीन जना जनप्रतिनिधिलाई पद रिक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्