
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई काठमाडौं ल्याएर केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग उपस्थित गराएको हो । पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ । पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । त्यहीक्रममा उनी पक्राउ परेका थिए ।
उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो । पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले भौसेपाटीस्थित उनको निवासमा पनि छापा मारेको थियो ।














