
काठमाडौं । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।
अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै, शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन् ।
राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि अशोक राईको समूहले उपेन्द्र यावदको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल फुटाएर ‘जनता समाजवादी पार्टी’ गठन गरेको थियो । सो पार्टी फुट विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै निवेदन हालेका थिए ।
सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि राईको समूह पार्टी बिहीन बन्न पुगेको थियो । त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।














