
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिहरूका लागि तोकिएको पाँच हजार रुपैयाँ शुल्कलाई पूर्ण रूपमा स्वेच्छिक बनाउने घोषणा गरेका छन् ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले कतिपय प्रतिनिधिहरूलाई आर्थिक भार परेको हुनसक्ने महसुस गर्दै यस्तो निर्णय लिएका हुन् ।
उनले यसअघि नै उक्त शुल्क बुझाइसकेका प्रतिनिधिहरूले चाहेमा आफ्नो रकम फिर्ता लिन सक्ने समेत स्पष्ट पारेका छन् । महाधिवेशनका क्रममा प्रतिनिधिहरूले केही दिन दुःख पाउनुपरेको स्वीकार गर्दै उनले आर्थिक कारणले कोही पनि प्रक्रियाबाट बाहिरिनु नपर्ने वातावरण बनाएका हुन् ।
पार्टीभित्र आन्तरिक लोकतन्त्र र विवेकको राजनीतिको वकालत गर्दै लामिछानेले आसन्न नेतृत्व चयनमा कसैको दबाब वा ‘ह्वीप’ स्वीकार्य नहुने चेतावनी दिए ।
रास्वपा परम्परागत राजनीतिक दलहरूभन्दा भिन्न चरित्रको भएको दाबी गर्दै उनले महाधिवेशन स्थलमा ‘यसलाई वा उसलाई भोट दिनू’ भन्दै लबिइङ गर्नेहरू रास्वपाका वास्तविक कार्यकर्ता हुन नसक्ने टिप्पणी गरे । उनले प्रतिनिधिहरूलाई कुनै पनि प्रभावमा नपरी निर्वाध रूपमा आफ्नो उम्मेदवारी दर्ता गर्न र कसैको गोटी नबनी मतदान गर्न आह्वान गरे ।
देशभरका ५२ लाख नागरिकले विवेक प्रयोग गरेर रास्वपालाई देशको शक्तिशाली दल बनाएको स्मरण गराउँदै सभापति लामिछानेले अब पार्टीको आन्तरिक चुनावमा पनि त्यस्तै उच्च लोकतान्त्रिक विवेक प्रदर्शन गर्नुपर्ने बेला आएको बताए । दल निर्माण र महाधिवेशन व्यवस्थापनका क्रममा केही प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू आए पनि यसलाई सहज रूपमा लिन उनले आग्रह गरे ।
पुराना राजनीतिक दल र तिनका नेताहरूले मुलुक परिवर्तनका लागि दशकौँसम्म जेलनेल र ठूलो कष्ट भोगेको प्रसंग कोट्याउँदै उनले आफूहरूले पार्टी बनाउने क्रममा दुई दिन दुःख पाउँदैमा अत्तालिन नहुने भन्दै प्रतिनिधिहरूको हौसला बढाए ।














