काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको परराष्ट्र नीति पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित हुने बताएका छन् ।

चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा मङ्गलवार पेस गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले छिमेकी मुलुक भारत र चीन दुवैसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम गर्ने बताएका छन् । उनले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, शिक्षा, प्रविधि र क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तारलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।
‘सीमा व्यवस्थापन, सीमा विवाद तथा ऐतिहासिक सन्धि–सम्झौताका विषयलाई भावनात्मक बहस होइन, तथ्य, प्रमाण, अन्तर्राष्ट्रिय अभ्यास र संस्थागत संवादमार्फत समाधान खोज्न हामी कटिबद्ध छौँ,’ प्रतिवेदनमा लामिछानेले लेखेका छन् ।














