Logo
Logo

क्रियाशील सदस्यता सम्बन्धी काँग्रेसले ल्यायो नयाँ तालिका


693
Shares

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः नयाँ कार्यतालिका ल्याएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ ।

The current image has no alternative text. The file name is: nepali-congress-1.jpg

कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरेको हो । त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने काँग्रेसले जनाएको छ ।

काँग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुङ्ग्याउने भएको छ । कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने छ ।  

विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत काँग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ । पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्याङ्कलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ ।

पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई १५औँ महाधिवेशनको तयारीका रूपमा हेरिएको छ । काँग्रेसले निर्धारित प्रक्रियाअनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्