चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका बालेन शाह आज बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन् ।

७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए । उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा पुगेका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक समेत बसेका थिए । रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका-९ शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि निर्वाचन अघि नै काठमाडौ फर्किएका हुन् ।














