Logo
Logo

चितवनमा रास्वपाको किचलो, काठमाडौंमा संसद् प्रभावित !


756
Shares

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । संसद् सचिवालयले ‘विशेष कारणवश’ बैठक बस्न नसक्ने जनाए पनि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएका कारण बैठक स्थगित भएको बुझिएको छ ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किए पनि अन्य मन्त्री र रास्वपाका अधिकांश सांसदहरू अझै चितवनमै छन् । महाधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम र सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावल लगायतका मन्त्रीहरू सहभागी छन् ।

चितवनमा गत आइतबारदेखि जारी रास्वपाको पहिलो महाधिवेशनले अहिलेसम्म पनि प्रतिनिधिहरूको विवाद टुङ्ग्याउन सकेको छैन। ९९ केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता भइसके पनि महाधिवेशन प्रतिनिधिहरूको विवाद कायमै रहेको हो ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन सकेको छैन । ४ सय २९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भनिए पनि पार्टीको निर्वाचन आयोगले यसको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशन प्रतिनिधिको सूची तयार पार्ने क्रममा अझै केही नाम छुटेको गुनासो आएको छ ।

“महाधिवेशन प्रतिनिधिहरूको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएकाले समाधानको प्रयास भइरहेको छ । आफ्नो प्रदेशमा कुनै समस्या भए प्रदेश सभापति वा प्रदेश महामन्त्रीमार्फत सहजीकरणका लागि लिखित विवरण अपराह्न ३:३० बजेभित्र उपलब्ध गराउन अनुरोध छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

रास्वपाको यस महाधिवेशनमा प्रतिनिधिहरूको संख्या करिब ४१ सय पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्